संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन् ।

अमेरिकामा सामान्य सेवा प्रशासन (जिएसए)ले औपचारिक रूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ जसले संक्रमणकाल सुरु गर्छ । तर, ट्रम्पले नियुक्त गरेकी सामान्य सेवा प्रशासनकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया सुरु गरेकी छैनन् । मर्फीले बाइडेनको टिमसँग सहकार्य गर्नेबारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन नदिएको बताएकी छिन् ।

स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ । यसबाट ट्रम्पले सार्वजनिक रूपमा बाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुटा दाबीलाई अझै पनि सत्य साबित गर्न खोजेझैँ देखिँदै छ । 

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन । विशेषगरी यस वर्ष चुनौती बढी छ किनकि बाइडेनले महामारीको बीचमा प्रशासन सम्हाल्दै छन् जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ । ‘अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्य रूपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नुपर्छ,’ बाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्विटमा भनेका छन् । 

अमेरिकाको गैरनाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई चुनावपछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र बाइडेन टोलीलाई संक्रमकालीन ऐनबमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन आग्रह गरेको छ । शनिबार अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित बाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरे पनि सरकार निर्माणको कदम भने चालेका छन् । 

बाइडेनले सर्वप्रथम कोरोना भाइरसमा ध्यान केन्द्रित गर्ने जनाएका छन् । अमेरिकामा हालसम्म लगभग दुई लाख ४० हजार नागरिकको ज्यान गइसकेको छ । बाइडेनले सोमबार एक कार्यदलको कार्य विवरण घोषणा गर्ने जनाएका छन् । जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ । यस कार्यदलले आगामी २० जनवरीमा बाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ । 

बाइडेनले यसअघि नै शल्य चिकित्सक डा. विवेक मुर्थी र पूर्व खाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सहअध्यक्षका रूपमा घोषणा गरिसकेका छन् । बाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्ने र जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरूसँग सम्पर्क स्थापना गर्नेछ । उनीहरूले विवरण संकलन गरी त्यसको समीक्षा गर्नेछन् । जस्तै बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरू र प्रक्रियामा रहेका अन्य कामहरू । तर, त्यो प्रक्रिया पूर्ण रूपमा सुरु हुन सक्दैन जबसम्म बाइडेनलाई जिएसएले राष्ट्रपति–निर्वाचित रूपमा मान्यता दिँदैन । 

जिएसएको नेतृत्वले स्वतन्त्र र पक्षपातरहित ढंगले कार्य गर्ने विश्वास गरिन्छ र कम्तीमा संघीय सरकारका केही अवयवहरूले संक्रमणकालीन योजनाहरू कार्यान्वयन गर्न सुरु गरिसकेका छन् । उदाहरणका लागि, नागरिक उड्डयन अधिकारीहरूले डेलावेयरको विल्मिंगटनस्थित बाइडेन लेकफ्रन्टको घरमाथिको हवाई क्षेत्र प्रतिबन्धित गरेका छन् भने सिक्रेट सर्भिसले राष्ट्रपति–निर्वाचित र उनको परिवारका लागि राष्ट्रपतिको सुरक्षा विवरणबाट एजेन्टहरू प्रयोग गर्न थालेको छ ।

डेमोक्रेटका केही नेताहरूले नयाँ प्रशासनको तयारी गरिरहेका पनि देखिएका छन् । बाइडेनका सहयोगीहरूले राष्ट्रपति–निर्वाचित र संक्रमणकालीन टोलीले रिपब्लिकन सांसदहरूसँग सम्पर्क गरेका छन् । ट्रम्पका निकटतम सहयोगीहरूमध्ये एक इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार मन्त्रिपरिषद्को बैठक बस्नुअघि पूर्वउपराष्ट्रपति तथा सिनेटर बाइडेनलाई बधाई दिएका छन् । ‘जो बाइडेनसँग मेरो करिब ४० वर्षदेखि लामो र न्यानो व्यक्तिगत सम्बन्ध रहेको छ र म उहाँलाई इजरायल राज्यको एक महान् मित्रको रूपमा चिन्दछु,’ नेतन्याहुले भने ।

रिपब्लिकन पार्टीका एक मात्र जीवित पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशले बाइडेनलाई ‘एक असल व्यक्ति’ भन्दै उनको शासनकालमा अमेरिका अझ एकबद्ध हुने विश्वास व्यक्त गरेका छन् । तर दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहमलगायत केही रिपब्लिकनले ट्रम्पलाई चुनावसम्बन्धी कानुनी चुनौतीहरूको अनुशरणलाई जारी राख्न आग्रह गरेका छन् । 
बाइडेनले आइतबार विलमिंग्टनस्थित घरनजिकको ब्रान्डवाईनस्थित सेन्ट जोसेफ चर्चमा भाग लिए । यहाँ उनी प्रत्येक साता जाने गर्छन् ।

उनले अरू समय प्रायः घरमै बिताएका छन् । उनका केही कर्मचारी भिडियोमार्फत घन्टाैं खर्च गरी संक्रमणकालीन योजना बनाउनेतर्फ केन्द्रित भएका छन् । ती योजनाहरू जोर्जियामा दुई सिनेटको दौडसँग पनि सम्बन्धित हुन सक्छन् किनभने यहाँ आगामी ५ जनवरीमा दोस्रो चरणको मतदान हुँदै छ । यो ठाउँमा रिपब्लिकनले ती सिटहरू जितेमा सिनेटमा रिपब्लिकनको बहुमत हुनेछ र बाइडेनको मन्त्रिमण्डल गठनमा ढिलाइ हुनुका साथै बाइडेनले अघि सारेका कैयौँ योजनालाई सहज रूपमा अघि बढाउन कठिन हुनेछ । 
शनिबार आफ्नो विजय भाषणको क्रममा बाइडेनले आफूले सबैलाई एकीकृत गरेर लैजाने बताएका थिए । उनले ट्रम्प समर्थकहरूलाई ‘एक–अर्कालाई मौका दिन’ आग्रह पनि पनि गरेका थिए । 

सुझावित समाचार