जुवाडे समूहलाई लुटपाट गर्ने गिरोहका तीनजनालाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।
गत बुधबार राति कञ्चनपुरको बेदकोट नगरपालिका– ५ पोलखरीमा जुवा खेलिरहेको जुवाडे समूहलाई लुटपाट गर्ने गिरोहका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार जुहाडे समूहलाई हतियार देखाएर तीन लाख नगद, मोबाइल लुटपाट गर्ने समूहका तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीले हतियार देखाएर लुटपाटमा संलग्नमध्ये पक्राउ परेका तीनजनालाई सार्वजनिक गरिएको बताए ।
‘मुख्य योजनाकार पक्राउ गर्न बाँकी छ,’ कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘अहिले घटनामा संलग्न तीनजना मात्रै पक्राउ परेका छन् ।’
घटनामा संलग्न बेदकोट नगरपालिका– १ पिपलथला बस्ने २८ वर्षीय केदार विष्ट, बेदकोट नगरपालिका– २ बसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका– ५ गुलरिया बस्ने २४ वर्षीय दीपक भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो ।
‘घटनामा ६–७ जना संलग्न रहेछन्,’ कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘अहिले तीनजना पक्राउ परेका छन्, बाँकीलाई पनि छिट्टै पक्राउ गरी सार्वजनिक गर्छौँ ।’
‘लुटिएको पैसा कसको हो, उनीहरू जुवा खेलिरहेका थिए, कि थिएनन् भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रमुख मसासिनीले भने, ‘लुटिएका भनिएका व्यक्तिले पनि जुवा खेलेको पुष्टि भए कारबाही हुन्छ ।’
पोलखरी बोहराकै घरनजिक जुवा खेलिरहेको अवस्थामा दुवै जुहारी समूहबीच लुटपाट भएको दाबी गरिएको छ ।
घटनास्थलबाट प्रहरीले दोस्रो दिन दुई राउन्ड गोली लोडसहित एक थान म्याग्जिन पेस्तोल बरामद गरेको थियो ।