साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ सय ४८ बिन्दुमा पुगेको हो । कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । यस दिन कारोबार रकम ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
विभिन्न १ सय ९८ किसिमका धितोपत्र र ऋणपत्रको खरिद–बिक्री भएकोमा १ सय २८ को मूल्य बढेको छ भने ४८ वटाको मूल्य घटेको हो । १ करोड ८ लाख संख्यामा धितोपत्र र ऋणपत्रको किनबेच भएको छ । बजारमा सेयर किनबेच अधिक खरिदको क्षेत्रमा पुगेको नेप्सेको १४ दिने आरएसआई सूचकले समेत संकेत गरेको छ । यो स्केल ८३ मा उक्लिएको छ ।
कारोबारमा आएको समूहमा व्यापारमूलक, उत्पादनमूलक, अन्य र जलविद्युत् समूहमा उच्च वृद्धि भएको छ । यस दिन वाणिज्य बैंक र विकास बैंक समूहमा मात्र गिरावट आएको छ । व्यापारमूलक समूहबाट साल्ट ट्रेडिङ, विशाल बजार दुवैको मूल्यवृद्धि भएको छ । उत्पादनमूलक समूहका हिमालयन डिस्टिलरी कारोबार रकम उच्च हुनेमध्ये दोस्रोमा छ भने मूल्यवृद्धिका आधारमा पहिलो स्थानमा छ ।
कम्पनीको १५ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको हो । व्यापारमूलक समूहको साल्ट ट्रेडिङ यस दिन कारोबार भएकामध्ये सबैभन्दा धेरैले मूल्य बढ्ने दोस्रो स्थानमा छ । दुवैको मूल्य करिब १० प्रतिशतले वृद्धि भएको हो । सेयर संख्या कम रहेका यी संस्थाको मूल्य बजारमा रहेकामध्ये उच्च हुने, भित्र पर्ने गर्दै आएको छ ।
कुमारी बैंकले यसअघि राष्ट्र बैंकले तोकेअनुसार प्रस्तावित लाभांशमध्ये ७० प्रतिशत हिस्सा बोनस सेयर र ३० प्रतिशत हिस्सा नगद लाभांश नभएपछि प्रस्ताव सच्याएको छ । बैंकले अब १० दशमलव ८५ प्रतिशत बोनस सेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश दिने भएको छ । बोनसदरमा शून्य दशमलव ८५ प्रतिशतले बढेपछि बैंकको मूल्य थप ४ रुपैयाँले वृद्धि भएको छ । यस दिन बैंकको २६ हजार कित्ता संस्थापक सेयरसमेत किनबेच भएको छ ।
कम्पनीहरूले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सकिने बुक क्लोज मिति नजिकिँदै गएपछि पनि केही कम्पनीहरूको मूल्य बढेको छ । घोडाघोडी लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीहरू मर्जरमा जान लागेकाले पनि घोडाघोडीको कारोबार रोक्का गरिएको छ । युनिक नेपाल बजारमा सूचीकृत नभएको कम्पनी हो ।