स्वरूप फेर्दै पर्वत अस्पताल

अक्सिजन प्लान्टसहित आइसियू र भेन्टिलेटर सुविधा सञ्चालन, अक्सिजन उत्पादन सुरु, डायलाइसिस सेवा नियमित हुँदा बिरामीलाई उपचारका लागि सहज

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण
स्वरूप फेर्दै पर्वत अस्पताल

पर्वतको जिल्ला अस्पतालमा जडान गरी सञ्चालनमा ल्याइएको अक्सिजन प्लान्ट

एक वर्षअघि ‘रेफर सेन्टर’जस्तै रहेको पर्वत अस्पतालको यतिवेला भने स्वरूपै फेरिएको छ । कोरोना भाइरस संक्रमण भएको गम्भीर बिरामीले समेत यहीँ उपचार पाइरहेका छन् । अघिल्लो वर्षसम्म सामान्य रोगका बिरामीलाई पनि आवश्यक सेवा सुविधा नभएपछि अन्यत्र रेफर गरिँदै आएको थियो । अहिले भने विभिन्न सुविधा थपिएसँगै स्थानीय बासिन्दाले जिल्लामै उपचार पाउन थालेका छन् । 

कोरोना महामारीसँगै अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट, आइसियू र भेन्टिलेटर सेवा थपिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तीन बेड क्षमताको आइसियू र पाँच बेड क्षमताको भेन्टिलेटर स्थापना गरिएको छ । त्यस्तै, अक्सिजन प्लान्ट स्थापना भएपछि पोखरा, काठमाडौं बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल सफल हुँदै गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । 

अस्पतालमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लान्टबाट नियमित अक्सिजन उत्पादन गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टबाट उपकरण स्थापना गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु गरिएको हो । 

अक्सिजनको अभावमा अस्पतालले शल्यक्रियासमेत रोक्नुपरेको स्मरण गराउँदै अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष पहाडीले बताए । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सीधै शय्यासम्म पुर्याउने व्यवस्था अस्पताले मिलाएको छ । साउनदेखि सुरु भएको मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा पनि प्रभावकारी बन्दै गएको छ । अहिले नियमित ६ जना बिरामीले डायलाइसिस सेवा लिइरहेको अस्पतालले जनाएको छ । 

सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजना अघि सारेको स्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवालीले बताए । केही जिल्ला अस्पतालहरूले समयमा नै सेवा सञ्चालनमा ल्याएको भए पनि अधिकांश अस्पतालहरू प्रविधि जडान गर्न लागिरहेको उनको भनाइ छ । 

सुझावित समाचार