क्यानद्वारा खेलाडी वर्गीकरण परिमार्जन

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

सोमपाल ‘ए’ श्रेणीमा बढुवा, पुरुष र महिला खेलाडीको पारिश्रमिकमा विभेद यथावत् 

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष तथा महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । क्यानको शनिबार कार्यकारी कमिटीको भर्चुअल बैठकले खेलाडीको वर्गीकरण सुधारेको हो । यसअघि क्यानले गरेको ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका खेलाडीको वर्गीकरण विवादित बनेको थियो । 

नयाँ वर्गीकरणमा केही खेलाडी बढुवा र समावेश भएका छन् । राष्ट्रिय पुरुष टोलीका बलर सोमपाल कामी ‘बी’ बाट ‘ए’ श्रेणीमा बढुवा भएका छन् । गत ६ असोजमा भरतपुरमा सम्पन्न क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गरेको थियो । नयाँ वर्गीकरणअनुसार पुरुषतर्फ २० तथा महिलातर्फ २२ खेलाडी ‘सेन्ट्रल कन्ट्रयाक्ट’ छन् । बढुवा तथा समावेश भएका नयाँ खेलाडीको नाम क्यानको बोर्ड बैठकमा सर्वसम्मत भएको छ । 

अघिल्लो वर्गीकरणमा सोमपाल कामी ‘बी’ श्रेणीमा रहँदा चौतर्फी विरोध भएको थियो । नेपालले डिभिजन–५ देखि एकदिवसीय मान्यताप्राप्त हुँदासम्मको यात्रा गर्दा सोमपालको भूमिका महत्वपूर्ण मानिन्छ । सोमपालले नेपालबाट २०१८ अगस्टमा नेदरल्यान्डविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । यसैगरी, टी–२० विश्वकपमा उनले हङकङविरुद्ध डेब्यु गर्ने अवसर पाए । सोमपालले ६ अन्तर्राष्ट्रिय एकदिवसीयमा २४६ रन बनाएका छन् । उनले एकपटक अर्धसतकीय इनिङ्स खेलेका छन् ।

यसैगरी, टी–२० ब्याटिङमा उनले ११२ को स्ट्राइकमा २८ खेलमा १९८ रन बटुलेका छन् । बलिङतर्फ उनले एकदिवसीय खेलमा ६ खेलमा १३ तथा टी–२० मा १९ इनिङ्समा २६ विकेट लिएका छन् । उनले नेपालबाट लिस्ट ‘ए’मा ४५ खेलमा ६५ तथा पहिलो श्रेणीको क्रिकेटमा तीन खेलमा ६ विकेट लिएका छन् । 
अविनास ‘बी’मा पुगे

राष्ट्रिय टोलीका युवा क्रिकेटर अविनास बोहरा ‘बी’ श्रेणीमा उक्लिएका छन् । क्यानको बैठकले उनलाई ‘सी’बाट ‘बी’ श्रेणीमा परिमार्जित गरेको हो । सल्यानका दायाँहाते ब्याट्सम्यान तथा बलर अविनासले २०२० मा ओमानविरुद्ध एकदिवसीय खेलमा डब्यु गरेका थिए । उनले २०१९ मा युएईविरुद्ध टी–२० मा डेब्यु गरेका थिए । एकदिवसीय खेलमा दुई खेलमा आठ रन तथा टी–२० मा उनले २० खेलबाट १७ रन बटुलेका छन् । एकदिवसीय खेलमा विकेट नलिए पनि उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा भने १९ इनिङ्समा २० विकेट हात पारेका छन् । 

राजवंशी र जोहरा वर्गीकरणमा
क्यानको परिमार्जित लिस्टमा ललितनारायण राजवंशी र सन्दीप जोहरा पनि समावेश भएका छन् । क्यानको बैठकले ललितलाई ‘बी’ तथा सन्दीपलाई ‘सी’मा समावेश गरिएको छ । २१ वर्षीय ललित अलराउन्डर प्रदर्शन गर्छन् । बायाँहाते अर्थोडक्स बलर ललित दायाँहातबाट ब्याटिङ गर्न रुचाउँछन् । उनले चार एकदिवसीयमा पाँच रन तथा १२ टी–२० खेलमा तीन रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा ललितले १२ इनिङ्समा १० विकेट हात पारेका छन् । 

एकदिवसीयमा उनले २०१९ मा युएई तथा टी–२० मा २०१८ मा नेदरल्यान्डविरुद्ध डेब्यु गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा छोटो समयमै स्थान बनाएका सन्दीपले यु–१९ टोलीका भरपर्दा खेलाडी हुन् । उनले २०१९ मा युएईविरुद्ध एकदिवसीय तथा टी–२० खेलमा डेब्यु अवसर पाए । यसैगरी, क्यानले महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ श्रेणीमा राखेको छ । ममता चौधरी र सुमन खतिवडा ‘सी’ श्रेणीमा परेका छन् । 

कति पाउँछन् पारिश्रमिक ?
क्यानले वर्गीकरण गरेका खेलाडीलाई प्रतिमहिना पारिश्रमिक दिन्छ । नयाँ सम्झौताअनुसार खेलाडीले २०२० को १ जनवरीदेखि मात्र पारिश्रमिक पाउनेछन् । क्यानले त्यही मितिबाट नियम लागू हुने जनाएको छ । पुरुषतर्फ ‘ए’ श्रेणीमा रहेका खेलाडीले प्रतिमहिना ५० हजार, ‘बी’ श्रेणीकाले ४० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले ३० हजार मासिक तलबका रूपमा थाप्छन् । यसैगरी, महिलातर्पm ‘ए’ श्रेणीकाले १५ हजार, ‘बी’ श्रेणीमा परेकाले १२ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले १० हजार रुपैयाँ प्रतिमहिना पाउने क्यानले जनाएको छ । क्यानले खेलाडीलाई प्रतिमहिना पारिश्रमिक ०७१ देखि दिँदै आएको हो । पुरुष र महिला खेलाडीमा पारिश्रमिकमा विभेद यथावत् नै छ । महिला खेलाडीले पुरुषसरह पारिश्रमिक पाउनुपर्ने माग गर्दै आएका छन् ।

क्लोज क्याम्प १० मंसिरदेखि

क्यानको बिहीबार सम्पन्न बोर्ड बैठक (भर्चुअल)ले राष्ट्रिय पुरुष टोलीको क्लोज क्याम्प १० मंसिरदेखि सुरु गर्ने जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण सुरु गर्न अनुमति दिएपछि क्यानले खेलाडीलाई प्रशिक्षणमा डाक्न लागेको हो । क्याम्पमा स्वास्थ्य प्रोटोकल पूरा गरी गरिने जनाएको छ । यसैगरी, भारतीय दूतावासको सहयोगमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पेभेलियन हलको स्तरोन्नति गर्ने निर्णय भएको छ । यसका साथै मूलपानीको माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नति प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बरको अन्तिममा गर्ने जनाएको छ । यसका लागि सम्बन्धित निकायसँग अनुमति लिन प्रक्रिया अगाडि बढाइने भएको छ । 

क्यानको वार्षिक साधारणसभा ३ मंसिरमा
क्यानको वार्षिक साधारणसभा ३ मंसिरमा हुने भएको छ । भर्चुअल बैठकले क्यानको साधारणसभाको मिति तय गरेको हो । यसअघि क्यानको २८ असोजमा साधारणसभा हुने भनिएको थियो । तर, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल कोरोना संक्रमित भएपछि साधारणसभा स्थगित गरिएको थियो । 

पुरुष खेलाडी
- ‘ए’ श्रेणी : कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी
- ‘बी’ श्रेणी : आरिफ सेख, पवन सराफ, सुशन भारी, अविनास बोहरा
- ‘सी’ श्रेणी : सुभाष खकुरेल, ललित राजवंशी, सन्दीप जोहरा, रोहितकुमार पौडेल, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी

महिला खेलाडी
- ‘ए’ श्रेणीमा : रुविना क्षेत्री, नेरी थापा, सीता रानामगर, इन्दु बर्मा, करुणा भण्डारी
- ‘बी’ श्रेणीमा : ज्योति पाण्डे, रोमा थापा, अप्सरी वेगम, बिन्दु रावल, कविता जोशी, ऋतु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी
- ‘सी’ श्रेणीमा : कविता कुँवर, अनुराधा चौधरी, डोली भट्ट, ममता चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, सुमन खतिवडा 

सुझावित समाचार