महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान आजदेखि सुरु गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले शनिबार अभियानको उद्घाटन गरेका हुन् ।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गत भदाै १६ गतेदेखि यस महाशाखाले काठमाडाैं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यकाको विभिन्न सडकछेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ ।
सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको छ ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले गीत संगीत भनेको हरजनको हरपरिस्थितिको सहारा, अत्यन्तै प्रिय साथी भएकोले गीत–संगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकाले यो अभियान सुरु गरिएको बताए ।
उनका अनुसार सडक प्रयोगकर्ता सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक–चोकमा डमी राखेर ट्राफिक सचेतनामूलक गीतहरू बजाउँदै जनचेतना जगाउने काम भएको बताए ।
उक्त कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दीपाश्री निरौला, जितु नेपालले आफ्ना प्रस्तुति राखेका थिए भने कार्यक्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा, कामनपाका सहरी सुशासन विभाग प्रमुख हरि कुँवर, सामाजिक अभियान्ता योङजोम शेर्पा, राधा पोख्रेल तथा महाशाखाका प्रहरी अधिकृत, जवानहरूको उपस्थिति रहेको थियो ।
महाशाखाले गीत–संगीतको माध्यमबाट आम सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन ख्यातिप्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारको स्वरमा विभिन्न ट्राफिक सन्देश एवम ट्राफिक गीतहरू समावेश गरी अडियो क्लिप तयार गरिएको छ ।
सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य पाँचवटा चोकहरू बानेश्वर, कोटेश्वर, रत्नपार्क शान्तिबाटिका, कलंकी र गोगबु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइनेछ । दैनिक बिहान तीन घन्टा र बेलुका तीन घन्टा पिकआवरको समयमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।
प्रत्येक आधा घन्टामा कम्तीमा ५० जना सडक प्रयोगकर्ता लाभान्वित हुने र दैनिक तीन हजारभन्दा बढीले ट्राफिक शिक्षा प्राप्त गर्ने अपेक्षा महाशाखाले लिएको छ । यसरी एक महिनामा एक लाख सडक प्रयोगकर्तालाई सचेतना दिने यस कार्यक्रमको लक्ष्य रहेको छ ।
जनचेतनाबाट लाभान्वित हुने आम सडक प्रयोगकर्ताले आ–आफ्नो घरपरिवार, साथीसंगी साथै समुदायमा उक्त ट्राफिक नियमको सन्देश प्रवाह गर्न महाशाखाले विशेष अनुरोध गरेको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउँदै भिडभाड हुने अन्य स्थानहरूमा समेत सांगीतिक डमी राख्दै लैजाने योजना रहेको छ ।
महाशाखाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान तथा काम–कारबाहीहरू निरन्तर सञ्चालन गरिरहेको छ । महाशाखाले सडक सचेतनासँगसँगै सडकको वैज्ञानिक विकास र कानुनको कार्यान्वयनलाई एकैसाथ अगाडि बढाइराखेको छ ।
सचेतना कार्यक्रमअन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, सारंगी टोली, प्लेकार्ड र फ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालकउपर दैनिक कक्षा, स्कुल र कलेजमा ट्राफिक कक्षा आदि मार्फत ट्राफिक सचेतना पनि प्रदान गरिरहेको छ ।