पोखरामा प्याराग्लाइडिङ गर्नेेको चाप आधा पर्यटक पालो नपाएर फर्कन बाध्य

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

पोखराको आकाश यतिवेला खुलेकोे छ । यही खुलेको आकाशबाट प्याराग्लाइडिङको आनन्द लिँदै हिमशृंखला, पोखरा सहर र तालतलैयाको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् ।

अहिले यसरी प्याराग्लाइडिङ गर्नेहरू दैनिक ७ सयको हाराहारीमा रहेको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार दैनिक त्यतिकै संख्यामा प्याराग्लाइडिङ गर्न नपाएर फर्कनेहरू छन् ।

निश्चित समयका लागि पोखरा घुम्न आएका पर्यटक प्याराग्लाइडिङको समय नपाएपछि त्यत्तिकै फर्कने गरेको उनले बताए । ‘अहिले यति धेरै आउनुभएको छ कि व्यवस्थापन गर्न सकस भइरहेको छ । चाहेर पनि आउनुभएकाहरूले प्याराग्लाइडिङ गर्न पाउनुभएको छैन,’ उनले भने, ‘उहाँहरूको बसाइ अवधि सीमित हुँदा सेड्युल नमिलेपछि यत्तिकै फर्काउन बाध्य छौँ ।’   

सराङकोट र तोरीपानीको टेकअफ एरियाबाट उडेर फेवाताल सिरान र चंखपुर क्षेत्रमा प्याराग्लाइडिङ अवतरण गर्ने गरिन्छ । सराङकोटमा प्याराग्लाइडिङको तयारीमा रहेकी काठमाडौंकी सिवानी खड्काले पोखरामा आएर एकपटक प्याराग्लाइडिङ नगरे आउनुको सार्थकता नै नहुने टिप्पणी गरिन् । पोखरा घुम्न आएकी र आउँदा प्याराग्लाइडिङ चढ्न पाइने थाहा पाएपछि खुसी लागेको उनले बताइन् ।

 ६० प्रतिशतसम्म छुट
पोखरामा अहिले प्याराग्लाइडिङ गर्न ६० प्रतिशतसम्म छुट पाइन्छ । कोरोना संक्रमणअगाडि ८ हजार रुपैयाँसम्म तिर्नुपर्नेमा अहिले न्यूनतम ३ हजारसम्ममा उडान गराउने गरेको ना पोखराका उपाध्यक्ष भण्डारी बताउँछन् ।

सिजनमा घाटा सहेरै भए पनि चहलपहल ल्याउन छुट दिइएको उनको भनाइ छ । कोरोना संक्रमणका कारण विगत ७ महिनाभन्दा लामो अवधिसम्म सबै पर्यटन व्यवसाय ठप्प थियो । अब कोरोनासँग जुधेरै भए पनि गतिविधि बढाउनुपर्ने देखिएको उनको भनाइ छ । उनले भने, ‘त्यही भएर हामीले आन्तरिक पर्यटकलाई लक्षित गर्दै ६० प्रतिशतसम्म छुट दिएका हौँ । त्यसैले अहिले यस क्षेत्रमा चलहलपहल भएको छ । यसरी छुट दिँदा नियमित सञ्चालनमै भने समस्या छ ।’ 

सस्तो शुल्क, खुलेको मौसम र चाडबाडसमेत भएकाले वरपरका पर्यटकहरूको अकर्षण बढेको उपाध्यक्ष भण्डारीले बताए । विगतमा महँगो भएकाले प्याराग्लाइडिङ गर्न नसकेकाहरू अहिले अनुभवका लागि पनि आउने गरेका छन् । जसका कारण पनि अहिले प्याराग्लाइडिङ गर्नेको संख्या धेरै भएको उनको विश्लेषण छ । 

 प्याराग्लाइडिङको भविष्य भने अन्योलमा
पोखरामा साहसिक पर्यटकका लागि प्याराग्लाइडिङ लोकप्रिय छ । यहाँको प्राकृतिक सौन्दर्यमा रम्दै प्याराग्लाइडिङ गर्न स्वदेशी र विदेशी पर्यटक आउँछन् । तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएर सञ्चालनमा आउँदा यसको भविष्य के हुने भन्ने अन्योल कायमै छ । नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य डा. लोकनाथ भण्डारीले एयरपोर्ट सञ्चालनमा आउँदा प्याराग्लाइडिङको भविष्य के हुने भन्ने अन्योलमै रहेको जानकारी दिए ।

 नेपालको एभिएसनमा पहिलो पिएचडी गरेका उनले एयरपोर्ट र प्याराग्लाइडिङको सेड्युल मिलाएरै भए पनि पोखरामा प्याराग्लाइडिङ बचाइराख्नुपर्नेमा जोड दिए । पोखराको एक महत्वपूर्ण प्रोडक्टका रूपमा रहेको प्याराग्लाइडिङ लोप हुन नदिनका लागि सम्भव उपाय अपनाइने उनले बताएका छन् ।

क्षमता ४ सय, उडान ७ सय 
पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । एउटा कम्पनीका ६ जना पाइलट छन् । यी सबैको पालो मिलाउँदा जम्मा क्षमता ४ सय हो । तर, अहिले क्षमताभन्दा धेरै नै बढी अर्थात् दैनिक ७ सयले प्याराग्लाइडिङ गर्छन् ।

अहिले प्याराग्लाइडिङ गर्नका लागि २–३ दिनअघि नै बुकिङ गर्नुपर्ने अवस्था छ । उपाध्यक्ष भण्डारीले अहिले धेरै उडान भएको र यसरी सधैँ उडान गर्ने छुट नहुने बताए । ‘चाडबाड र सुरुमा माहोल बनाउन खोज्दा धेरै संख्यामा उडान भएको छ । अब दुई–चार दिनमै क्षमताअनुरूप मात्र उडाउन सर्कुलर गर्र्दै छौँ,’ उनले भने ।

सुझावित समाचार