बागमती नगरपालिकाको गौरवको आयोजना फनपार्कको निर्माण ठेक्का सम्झौता भएको छ । बागमती नगरपालिकाको वडा नम्बर ११ मा रहेको बुद्धशान्ति तपोवननजिकै निर्माण हुन लागेको फनपार्क एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।
१७ करोडमा ठेक्का सकारेको निर्माण व्यवसायी गौरीपार्वती सुनकोसी धुलिखेल जेभी नयाँ बानेश्वर काठमाडौंले योजनाको ९० प्रतिशत काम सम्पन्न गर्ने बागमती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले जानकारी दिए ।
फनपार्कको पर्खाललगायतका केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने उनको भनाइ छ । तीर्थस्थलका रूपमा रहेको बागमती नदी–किनार र चुरे शृंखलाको काखमा रहने यो पार्क पर्यटकीय हिसाबले प्रदेश नम्बर २ कै नमुना हुने नगरपालिकाको अपेक्षा छ । यस क्षेत्रको पर्यटन विकासमा फनपार्क मेरुदण्डसाबित हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलको भनाइ छ ।
निर्माणस्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायतका कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको मेयर थापाले बताए । उनले भने, ‘हामी यस क्षेत्रलाई बागमतीको मात्र होइन, प्रदेश नम्बर २ कै पहिचानको क्षेत्र बनाउने अभियानमा छौँ ।’
योजना महत्वाकांक्षी भए पनि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने थापाले दाबी गरे । स्थानीय संस्कार–संस्कृति र रहनसहनसमेत पार्कको आकर्षणको केन्द्र बन्ने मेयर थापाको भनाइ छ । पार्कमा सुविधासम्पन्न अतिथिगृह, स्विमिङ पुल, पिकनिक स्पट, बालबालिकाका लागि खेल्ने सामग्रीसहितको पार्क निर्माण गरिनेछ । पार्कसँगै रहेको बागमती नदीमा पर्यटकका लागि बोटिङको व्यवस्था रहने नगरपालिका कार्यालयले जनाएको छ ।
पार्कको अनुमानित लागत २५ करोड तोकिएको भए पनि ९० प्रतिशत कामका लागि १७ करोडमा ठेक्का लागेको हो । पार्कको तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७५ वैशाख १३ गते बिहीबार शिलान्यास गरेका थिए । पूर्व–पश्चिम लोकमार्गबाट २ किलोमिटरको दूरीमा निर्माण हुन लागेको पार्कको क्षेत्रफल ६७ रोपनी रहेको नगरपालिका इन्जिनियर सागर पौडेलले बताए ।