काठमाडौं महानगरपालिकाले कोरोनासँग सम्बन्धित सिफारिस दिँदा सेवाग्राहीसँग कुनै शुल्क नलिन निर्देशन दिएको छ । कोरोना संक्रमण पुष्टि भइसकेपछि उपचारका लागि विपन्न वा लक्षित वर्ग भएको सिफारिस आवश्यक पर्ने भएपछि महानगरले सबै वडालाई पत्राचार गर्दै त्यसका लागि कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरूले ‘होम आइसोलेसनमा बसेको हो’ भन्ने सिफारिस दिँदा अधिकांश वडाले निःशुल्क दिए पनि केही वडाले सिफारिस दस्तुर लिएका थिए । यसअघि महानगरले तोकेको सिफारिस दस्तुरको सूचीमा कोभिड नभए पनि ‘अन्य सिफारिस’ शीर्षकमा दस्तुर लिने गरिएको छ ।
महानगरको वडा नं. ३२ ले सिफारिस दस्तुरबापत पाँच सय १० रुपैयाँ लिएको थियो । त्यसको सेवाग्राहीले विरोध गरेका थिए । सेवाग्राहीहरूको गुनासो र विभिन्न क्षेत्रबाट पनि आलोचना भएपछि महानगरले सूचना नै निकालेर कुनै पनि दस्तुर नलिन भनेको हो ।
महानगरले जारी गरेको निर्देशनमा भनिएको छ, ‘सिफारिसका लागि लिने गरेको दस्तुर नलिनेसम्बन्धी निर्णय महानगर प्रमुखबाट भएको र सो निर्णय कार्यपालिकाको बैठकबाट अनुमोदन गराउने गरी हाललाई कोभिड–१९ सँग सम्बन्धित सबै सिफारिस निःशुल्क गर्ने निर्णय भएकाले सोहीअनुसार गर्न अनुरोध गरिन्छ ।’ कोरोना संक्रमितहरूले कार्यालयमा बिदा मिलाउन तथा लक्षित वर्गले उपचार सेवा पाउनका लागि वडाबाट सिफारिस लिनुपर्छ ।