बजार घटे पनि कारोबार रकममा भने ६२ प्रतिशतले वृद्धि, बुधबार १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार २ अर्ब ८४ करोडको सेयर किनबेच
नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार पनि ओरालो लागेको छ । परिसूचक ४ दशमलव ५५ अंकले घटेर १ हजार ६ सय ३६ मा आइपुगेको छ । साताको १ दिनबाहेक लगातार नेप्से घट्दो क्रममा देखिएको छ ।
४ दिनदेखि नेप्से परिसूचक अन्तरदिनको कारोबारमा ७ देखि १२ अंकले उतारचढाव भइरहेको छ । यसबीचमा नेप्से १ हजार ६ सय ३४ आसपासबाट फर्कने, तर १ हजार ६ सय ४६ आसपासबाट माथि जान नसक्ने गरिरहेको छ । नेप्से सानो रेन्जमा रहेर तलमाथि मात्र गरिरहेको छैन । निश्चित बिन्दुभन्दा न त माथि जान सकिरहेको छ, न त तल । बजारले स्पष्ट दिशा समात्न नसकेको यसले संकेत गर्छ ।

बजार घटे पनि कारोबार रकममा वृद्धि
बजार घटे पनि कारोबार रकममा भने ६२ प्रतिशतले वृद्धि भएको छ । बुधबार १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार २ अर्ब ८४ करोडको सेयर किनबेच भएको छ । २ सय धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ७३ वटाको मूल्य बढेको, ९९ वटाको घटेको छ ।
कारोबारमा आएकामध्ये होटेल, विकास बैंक, जलविद्युत् र जीवन बिमाको समूहगत परिसूचक मात्र बढेको छ । केही दिनदेखि कारोबारमा वृद्धि भइरहेको प्राइम कमर्सियल बैंकको बिहीबार पनि कारोबार उच्च भएको छ । यस दिन बैंकको २० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सेयर मूल्य भने ५ रुपैयाँले बढेर ३ सय ५१ रुपैयाँ पुगेको छ ।
प्राइमको ५४ प्रतिशतले मुनाफा बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको हो भने बैंकले २५ करोड रुपैयाँ प्रावधानमा राखेको रकम फिर्ता ल्याएपछि पनि नाफामा सुधार हुन सकेको हो । बैंकले ब्याज, शुल्कबाट पनि २ अर्ब १४ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा ६० करोड रुपैयाँभन्दा धेरैले बढेको हो । बैंकले हालसम्म ३३ करोड ८४ लाख रुपैयाँ प्रतिफलका रूपमा वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको २ दशमलव ३६ प्रतिशत हो ।
यसै दिन एभरेष्ट बैंकले पनि ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको सेयर मूल्य ४२ रुपैयाँले घटेर ६ सय ७५ रुपैयाँमा सीमित भएको छ । सानिमा जनरल इन्स्योरेन्सको मूल्य थप १० प्रतिशतले बढेर ३ सय ७६ रुपैयाँसम्म कारोबार भएको छ ।