संघीय सरकारको योजनाअनुसार स्थानीय तहहरूमा अस्पताल सञ्चालनका लागि चिकित्सक अभाव ठूलो समस्या बनेको छ । अस्पताल सञ्चालनका लागि चिकित्सकको अभाव देखिएको छ ।
संघीय सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । यहाँका स्थानीय तहले त्यसअनुसार तयारी पनि गरेका छन् । कतिपय स्थानीय तहले अस्पताल उद्घाटनसमेत गरेका छन् । तर, डाक्टरको आवश्यकतासम्बन्धी सूचनामा कसैले आवेदन नदिएपछि अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ ।
पाँचथरका आठ स्थानीय तहमध्ये फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाबाहेक कुनै स्थानीय तहमा पनि डाक्टर पुर्याउन सकिएको छैन । गाउँपालिकाले जारी गरेको सूचनामा एमबिबिएस डाक्टर, स्टाफ नर्ससहितको सेवा सुरु गर्ने उल्लेख छ । तर, अरू तयारी सकिए पनि कोही डाक्टरले आउने चासो देखाएका छैनन् । आफूहरूले डाक्टर ल्याउने पहल गरिरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले बताए । ‘अस्पताल त खुल्यो, तर डाक्टर ल्याउन समस्या भयो,’ उनले भने ।
सबै गाउँपालिकाका उस्तै समस्या
याङवरक गाउँपालिकामा पनि अवस्था उस्तै छ । डाक्टरबाहेकको तयारी सकिएको लामो समय भइसकेको छ । जिल्लाका प्रायः सबै स्थानीय तहले सोही समस्या भोगिरहेका छन् । प्रदेश सांसदलाई उपस्थित गराएर भव्य उद्घाटन गरिएको कुम्मायक गाउँपालिकाको पनि अवस्था उस्तै छ । ‘अहिले नर्स र एचएसहितका आवश्यक जनशक्ति छन्, तर प्रमुख डाक्टर भने ल्याउन समस्या भइरहेको छ,’ गाउँपालिका उपाध्यक्ष सीता आचार्यले भनिन् ।
दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पनि समस्या उस्तै छ । यसअघि स्वास्थ्य केन्द्रमा रहेको चिकित्सकीय जनशक्तिलाई नै अहिले प्रयोग गरिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए । फाल्गुनन्द गाउँपालिकाले पनि सोही समस्या भोगिरहेको छ । पटकपटक सूचना गर्दा पनि डाक्टर ल्याउन नसकिएको स्थानीय तहको भनाइ छ । ‘हामीलाई चाहिने एमबिबिएस डाक्टर हो । त्यही आउन पनि आनाकानी गर्छन्,’ एक अध्यक्षले भने ।