बेँसीसहर नगरपालिकाले अनुदानमा वितरण गरिएका खेत जोत्ने हाते ट्याक्टरको भाडादर तोकेको छ । नगरपालिकामा हाते ट्याक्टरको भाडादरमा एकरूपता नभएको र बढी लिएको गुनासो आएपछि अनुदानमा वितरण गरिएका र आगामी दिनमा वितरण गर्ने हाते ट्याक्टरको भाडादर प्रतिघन्टा ७ सय रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरेको हो ।
बेँसीसहर नगरपालिका कृषि शाखाको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाका प्रमुख एवं कृषि व्यवसाय प्रवद्र्धन समितिका संयोजक गुमानसिंह अर्यालले कृषकलाई सहज होस् भनेर हाते ट्याक्टर वितरण गरिएको भए पनि भाडादरमा एकरूपता नभएको गुनासो आएपछि व्यावहारिक रूपमा दररेट तोकिएको बताए ।
नगरपालिकाले यसअघि करिब १ सय ८० वटा हाते ट्याक्टर वितरण गरेको थियो । चालू आर्थिक वर्षमा पनि करिब १ सयवटा वितरण गर्ने कार्यक्रम रहेको छ । कृषि शाखाको बैठकले उत्कृष्ट मेयर कृषि पुरस्कार वितरण गर्ने, हाते ट्याक्टर, मौरी घार, टनेल, कृषि यान्त्रीकरण औजार वितरण गर्ने प्रक्रिया अघि बढाउने र विदेशबाट फर्किएका युवाहरूलाई अनुदानमा पक्की टनेल वितरण गर्नेलगायतका निर्णय गरेको बेँसीसहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।