वीर अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड भत्ता छैन, १६ चिकित्सकको सामूहिक राजीनामा

बिहिबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण
वीर अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड भत्ता छैन, १६ चिकित्सकको सामूहिक राजीनामा

समयमै तलबभत्ता माग गर्दै प्रदर्शनमा उत्रिएका वीर अस्पतालका चिकित्सक र कर्मचारी

वीर अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् । आकस्मिक कक्षमा कार्यरत उनीहरूले अस्पताल निर्देशक डा. केदार सेन्चुरीलाई राजीनामा बुझाएका हुन् । कोभिड–१९ महामारीमा जोखिमबीच सेवामा खटिँदा पनि अस्पतालले आफूहरूको मनोबल गिराउने काम गरेकाले राजीनामा दिएको चिकित्सकहरूको भनाइ छ ।

‘ज्यालादारी भनेर दसैँ, तिहार भत्ता दिइएन, एक दिनको तलब कट्टा गरेर दिइयो, पर्याप्त स्रोत सामग्री उपलब्ध गराइएन र धम्कीयुक्त भाषामा विभिन्न ठाउँमा चौबीसै घन्टा ड्युटी गराइयो,’ राजीनामापत्रमा उल्लेख छ, ‘हप्ताको ९६ घन्टाजस्ता विभिन्न हतोत्साहित काम गराइएकाले हाम्रो मनोबल गिरेको जानकारी गराउँछौँ ।’

अस्पताल निर्देशक डा. सेन्चुरीले आफूहरूलाई धम्की दिएको आकस्मिक कक्षमा कार्यरत डा. भवीन्द्र कार्कीले बताए । चिकित्सकले सुरक्षा सामग्री, कोभिड–१९ भत्ता र समयमै तलब माग गर्दा ‘काम गर्ने मन भए गर नत्र जागिर छाड’ भनेर निर्देशक सेन्चुरीले धम्क्याएको उनले बताए । ‘मन भए गर, नत्र जागिर छाड भनेपछि आफ्नै ज्यान जोखिममा राखेर काम गर्न सकिँदैन भनेर राजीनामा दिएका हौँ,’ डा. कार्कीले भने ।

वीर अस्पतालका स्वास्थ्यकर्मीले पर्याप्त सुरक्षा सामग्री, समयमै तलब र कोभिड–१९ भत्ता माग गर्दै १ कात्तिकमा पनि आन्दोलन गरेका थिए । त्यतिवेला उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डिएन साह र अस्पताल निर्देशक डा. सेन्चुरीको कार्यकक्षमा तालाबन्दी पनि गरेका थिए ।

सरकारले उपलब्ध गराउने जोखिम भत्ता नपाएको मात्र होइन, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), मास्क र पन्जा पनि आफैँले खरिद गर्नुपरेको गुनासो उनीहरूको छ । पर्याप्त सुरक्षा सामग्री नभएकै कारण वीर अस्पतालमा कार्यरत एक सय ७० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । कोभिड–१९ उपचार र रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय सरकारले ३ चैतमै गरेको थियो ।

‘मास्क, पन्जा, पिपिई नभएकै कारण आकस्मिक कक्षमा कार्यरत २० मध्ये १८ जना चिकित्सक संक्रमित भए,’ नेपाल स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य भन्छन् । बुधबार सामूहिक राजीनामा बुझाउनेमध्ये २० मध्येका १६ जना चिकित्सक छन् ।
पर्याप्त सुरक्षा सामग्री नपाएकैले कोरोना संक्रमण भएका अस्पतालको कार्डियोलोजी विभागका स्वास्थ्यकर्मी कालु सिंहको ११ कात्तिकमा मृत्यु नै भयो । संक्रमित भएपछि उनले नयाँ पत्रिकासँगको कुराकानीमा भनेका थिए, ‘आइसियूबाहेकका अरूलाई एन–९५ मास्क, पिपिई, पन्जा दिएनन् ।’

पर्याप्त सुरक्षा सामग्री र तलबभत्ता माग गर्दै स्वास्थ्यकर्मीले १५ असोजमा अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसको दुई सातासम्म माग सुनुवाइ नभएपछि २ कात्तिकमा अन्य कर्मचारी पनि आन्दोलनमा उत्रेका थिए । त्यसपछि पनि माग सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको डा. कार्कीले बताए ।

दरबन्दीका कर्मचारी हाजिर मात्रै गर्ने, तर जोखिममा ज्यालादारीले मात्रै काम गर्नुपरेको विरोधमा राजीनामा बुझाएको चिकित्सकहरूको भनाइ छ । हाल वीर अस्पताल ज्यालादारी र करारका कर्मचारीको भरमा चलेको छ ।

वीर अस्पताललाई कमजोर बनाएर पदाधिकारी हटाउने योजनामा रहेको स्वास्थ्य मन्त्रालय समस्या समाधान गर्नेभन्दा बल्झाउनेमा देखिएको छ । सरकारले वीरलाई कोभिड अस्पताल बनाएको छ, तर जोखिम भत्ता दिन नसक्ने बताएको छ । आफैँले कमाएर खानुपर्ने मन्त्रालयको तर्क छ । काम नगरे पनि सरकारी कर्मचारीले सेवा सुविधा समयमै पाएका छन् । वीर अस्पतालमा भने समिति, ज्यालादारी र करारका कर्मचारी मारमा परेका छन् ।

अस्पताल निर्देशक डा. सेन्चुरीले भने चिकित्सकहरू काममा फर्किसकेको बताए । ‘राजीनामाको घुर्की मात्र देखाउनुभएको हो । काममा फर्किसक्नुभयो,’ उनले भने । दुई महिनाको कोभिड भत्ता र समयमै सुरक्षा सामग्री दिने सहमतिपछि चिकित्सकहरू काममा फर्किएको उनको भनाइ छ ।

‘काम गरेको तलबभत्ता नपाउने कुरा हुँदैन । तलब दिन अलिकति ढिला भएको मात्र हो । अब समयमै पाइन्छ,’ डा. सेन्चुरीले भने । सरकारबाट बजेट कम आएकाले कर्मचारीलाई सुरक्षा सामग्री र भत्ता समयमै दिन नसकिएको उनले बताए ।

सुझावित समाचार