आफ्नै तीन महिनाकी छोरीको घाँटी थिचेर हत्या गरेको बाबुलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेकाे छ ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका– ४ का ५१ वर्षीय बुनिया भनिने करिम मियाँले तीन महिनाकी छोरीको २२ मंसिर ०६६ मा हत्या गरेर फरार भएको आरोपमा प्रहरीले ११ वर्षपछि पक्राउ गरेको हो ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार बाबु करिमले ११ वर्षअघि कान्छी श्रीमती अजिरन खातुनबाट जन्मिएकी छोरीको घाँटी थिचेर हत्या गरेका थिए । माइतीघरबाट फर्काएर ल्याउने क्रममा बाटोमा आमाछोरीकै घाँटी थिचेर बेहोस अवस्थामा केराघारीमा फालेर उनी फरार भएका थिए ।
केही महिनादेखि उनी घरमा आएर लुकिछिपी बसेको सूचना पाएपछि प्रहरीको विशेष टोलीले करिमलाई पक्राउ गरेको हो ।
मरी भनेर केराघारीमा फालिएकी श्रीमती अजिरन भने बाँच्न सफल भएकी थिइन् । उनकै बयानका आधारमा सुनसरी प्रहरीले २३ मंसिर ०६६ मा छोरीको हत्या गरेको आरोपमा बाबु करिमविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।
नाबालक छोरीको हत्या गरेर फरार भए पनि ११ वर्षपछि पक्राउ परेका बाबु करिमलाई कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता भएको छ ।