अन्नपूर्ण क्षेत्रका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई कम गर्ने उद्देश्यसहित गाउँपालिकाभित्रका पर्यटकीय स्थलमा भ्रमण गर्न रोक लगाएको छ ।

कोरोना महामारी फैलिँदै गएको अवस्थामा दसैँ र तिहार पर्वको अवसरमा गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको आगमन बढेपछि गाउँपालिकाले पर्यटकीय स्थलहरूमा भ्रमणमा नआउन आह्वान गरेको हो ।

म्याग्दीमा समेत कोरोना संक्रमण बढ्न थालेपछि गाउँपालिकाले तत्कालका लागि गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूमा भ्रमण गर्न रोक लगाएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार भ्रमणका लागि आन्तरिक पर्यटकहरूको चहलपहल बढेसँगै संक्रमण फैलिएको ठाउँबाट आउने आन्तरिक पर्यटकहरूमार्फत स्थानीयमा कोरोनाको जोखिम बढेपछि गाउँपालिकाले भ्रमणमा रोक लगाएको हो । 

पछिल्लो समय गाउँपालिकाभित्र रहेका महरेडाँडा, करबाकेली, खोप्रा, बयली, ढाडखर्क, घोरेपानी, पुनहिल, रुप्से, नारच्याङ झरना र विभिन्न स्थानमा रहेका तातोपानी कुण्डहरूमा पर्यटकको चहलपहल बढेको थियो । यसअघि घोरेपानीका स्थानीयवासीले समेत भ्रमणमा आउनेहरूबाट कोरोना संक्रमणको जोखिम बढेपछि भ्रमणमा रोक लगाउने निर्णय गरेका थिए ।

गाउँपालिकाले संक्रमणको जोखिम भएका बाह्य जिल्लाबाट आउने व्यक्तिहरूलाई समेत अनिवार्य रूपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने निर्णय गरेको छ । कोरोना महामारीबाट बच्न र बचाउनका लागि घरबाहिर निस्किँदा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्नसमेत आह्वान गरिएको छ ।

सुझावित समाचार