कोरोना संक्रमणका कारण पोखरामा एकजनाको निधन भएको छ ।
पोखरा महानगरपालिका– ५ घर भएकी ५९ वर्षकी एक महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड– १९ उपचार केन्द्रको आइसियूमा उपचारको क्रममा सोमबार राति ११ बजे निधन भएको हो ।
कोरोना पुष्टि भएसँगै ती महिला १४ कात्तिकमा कोभिड उपचार केन्द्रको आइसियूमा उपचारका लागि भर्ना भएकी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
योसँगै यस केन्द्रमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २६ पुगेको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।
गण्डकीका ११ जिल्लामध्ये कास्कीका ३०, गोरखाका आठ, तनहुँका ११, स्याङ्जाका ६, पर्वतका एक, नवलपुरका १७, बाग्लुङका पाँच, लमजुङका एक, म्याग्दीका दुई र मुस्ताङका एकजना रहेका छन् ।