कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रूपमा फर्किन सकेको छैन । अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउनुपर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् ।
टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले मंगलबार सातदोबाटोस्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् ।
नौ महिनादेखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनुपर्ने चौतर्फी दबाब आएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सीमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ ।
खेलाडी स्वयं आफैँले विभिन्न माध्ययमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरेअनुसार छिटफुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन् ।
यसैमध्येका कराते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन् ।
घर बसाइ पट्यारलाग्दो भइसकेको र अभ्यासमा फर्किन आतुर रहेकाे कराते खेलाडी अनु अधिकारीले अभ्यासले आफूलाई उत्साह मिलेको बताइन् ।
उनले खेलाडीलाई घर बसाइले फिटनेसमा असन्तुलन देखिने भएकाले राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीलाई अभ्यासको नियमित वातावरण मिलाइदिनसमेत आग्रह गरिन् ।
यस्तै नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नवीन रसाइली पनि अभ्यासमा फर्किन पाउँदा खुसी देखिन्छन् ।
कोरोनाले असर पारेको भन्दै नवीनले घरको वातावरण मात्र भन्दा पनि अभ्यास आवश्यक भएको बताए ।
मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बाहना बनाएर खेलकुद गतिविधि रोक्न नहुने बताए ।
खेलाडीलाई घरमा नै थुनेर राख्नेभन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रियस्तरमा अन्य देशले अवलम्बन गरेको विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नुपर्ने समय आएको र सोहीअनुसार खेलाडीलाई फिटनेसका लागि अभ्यासमा बोलाइएको जानकारी दिए ।
नेपाली खेलाडीलाई टोकियो ओलम्पिक ऱ्याकिङका आधारमा त्यति सहज छैन । यद्यपि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक सहभागिता हुने लक्ष्यलाई कोरोना महामारी थप बाधक बनेको छ ।