कोरोना भाइरस नियन्त्रणमा असफलताले ट्रम्पलाई रक्षात्मक अवस्थामा पुर्याए पनि आफूले उत्कृष्ट काम गरेको दाबी गर्न छोडेका छैनन्
सन् २००८ को चुनाव प्रचारका दौरान दक्षिणपन्थी समाचार संस्थाहरूले डेमोक्रेटिक प्रत्यासी बाराक ओबामा मुस्लिम रहेको, अमेरिकामा नजन्मिएको जस्ता मिथ्या सूचना प्रसार गरेपछि सशंकित मतदाताले चुनावी भेलाहरूमा रिपब्लिकन राष्ट्रपतीय उम्मेदवार जोन म्याकेनलाई निरन्तर प्रश्न तेस्र्याए । तर, चुनावी प्रचारका क्रममा म्याकेनले ओबामा अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्ने भनाइको निरन्तर खण्डन गरिदिए । उनी कथंकदाचित ओबामा राष्ट्रपति भए कसैले डराउनु नपर्ने, तर उनले भन्दा आफूले राम्रो काम गर्न सक्ने विश्वासका साथ मैदानमा उत्रिएको जवाफ दिने गर्थे । यद्यपि, म्याकेन पराजित भए । म्याकेनले मतदातालाई विश्वास दिलाएझैँ अमेरिकी सुरक्षामा ओबामाले पनि कुनै कमी आउन दिएनन् । बरु अमेरिकाका तत्कालीन एक नम्बर शत्रु अल कायदा नाइके ओसामा बिन लादेनको सफाया गर्ने मिसन सफल तुल्याए ।
तर, १२ वर्षपछि हुँदै गरेको यो चुनावमा रिपब्लिकन पार्टी म्याकेनले हाँकेजस्तो छैन । दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिएका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धी जो बाइडेनले जितेमा अमेरिका लुटको राज्यमा परिणत हुने दाबीका साथ प्रचार–प्रसार गर्दै छन् । अघिल्लोपटक ट्रम्प आफ्नै पार्टीका नेतादेखि डेमोक्रेटिक प्रतिस्पर्धी हिलारी क्लिन्टनसम्मलाई निरन्तर व्यक्तिगत गाली वर्षाएकै भरमा प्राइमरीदेखि अन्तिम चुनावसम्म पार लगाउन सफल रहे । अहिले पनि उनी त्यही गर्दै छन् । आफू राष्ट्रपतिको कुर्सीमा रहँदा अमेरिकामा फैलिएको हिंसा र गोलीबारीलाई पनि बाइडेनको अमेरिका भन्दै प्रचार गरिरहेका छन् ।
कोरोना भाइरस नियन्त्रणमा असफलताले ट्रम्पलाई रक्षात्मक अवस्थामा पुर्याए पनि आफूले उत्कृष्ट काम गरेको दाबी गर्न छोडेका छैनन् । ट्रम्पले सुरुमै भाइरसको गम्भीरता थाहा पाए पनि आमजनतालाई गुमराहमा राखेको तथ्य वाटरगेट काण्ड उजागर गर्ने भेट्रान पत्रकार बब उडवार्डको किताबका लागि ‘भाइरस हावाबाट पनि सर्ने र युवाहरूसमेत प्रभावित हुने’ भनेर ट्रम्पले फेब्रुअरीमै दिएको अन्तर्वार्ताको अडियो सार्वजनिक भएसँगै उजागर भयो । कोठाभित्र भाइरस शक्तिशाली रहेको बताउने ट्रम्पले सार्वजनिक रूपले भने कहिले यो आफैँ हराएर जाने त कहिले नियमित फ्लुजस्तै सामान्य रहेको संज्ञा दिइरहे । फलस्वरूप अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३० हजार नाघेको छ । ९० लाखमाथि संक्रमित भएका छन् । आउँदो डिसेम्बर अन्त्यसम्ममा मृतकको संज्ञा तीन लाख नाघ्ने प्रक्षेपण छ ।
धेरै जाँच गरेका कारण अमेरिकामा संक्रमितको संख्या बढी भएको, मृतकको आनुपातिक संख्या युरोपका कैयौँ मुलुकको तुलनामा कम रहेको, डेमोक्र्याटले शासन गरेका राज्यबाहेक अन्त मृत्युदर कम रहेको जस्ता दाबी गरिरहेकै छन् । कोरोना भाइरसमा मात्र होइन, अर्थतन्त्रदेखि शान्तिसुरक्षासम्म उनी अमेरिकालाई डेमोक्र्याट र रिपब्लिकन क्षेत्रको रूपमा विभाजन गरिरहेका छन् । सभामुख न्यान्सी पेलोसीले डेमोक्र्याटशासित राज्य र सहरहरूलाई रकम दिन खोजेको भन्दै कोरोना भाइरस प्रभावित जनताका लागि दोस्रो राहत प्याकेजमा सहमति गर्न ट्रम्पले अस्वीकार गरिदिए । उनीमातहत काम गर्दा आजित भएर बाहिरिएका पूर्वरक्षामन्त्री जिम म्याटिसजस्ता हस्तीहरूले राष्ट्रिय एकताको प्रयास नगर्ने पहिलो अमेरिकी राष्ट्रपतिको संज्ञा दिए पनि ट्रम्पले आफूलाई बदल्ने कुनै छाँट देखाएका छैनन् । ट्रम्पको हर्कत नै बाइडेनका लागि अवसर बन्न सक्ने संकेत देखिएको छ।
अधिकांश सर्वेक्षणमा ट्रम्प प्रतिस्पर्धी बाइडेनभन्दा दोहोरो अंकले पछाडि छन् । सन् १९३२ यता पहिलोपटक बहालवाला राष्ट्रपति प्रतिस्पर्धीको तुलनामा यति धेरै पछि परेको विश्लेषण छ । त्यसवेला सुरु भएको गम्भीर आर्थिक मन्दीका कारण हार्वर्ट हुवर फ्रांकलिन रुजवेल्टसँग पराजित भए । आर्थिक संकट समाधानसँगै दोस्रो विश्वयुद्धमा अमेरिकी विजयको नेतृत्व गरेका रुजवेल्टले दुई कार्यकालभन्दा बढी निर्वाचित हुने एक मात्र अमेरिकी राष्ट्रपतिको इतिहास बनाए । २०औँ शताब्दीयता पाँचजना राष्ट्रपति मात्र दोस्रो कार्यकालका लागि लडेको चुनावमा पराजित भएका छन् ।
दोस्रो विश्वयुद्धपछि तीनजना अमेरिकी राष्ट्रपति एक कार्यकालमा सीमित भए– जेरार्ड फोर्ड, जिम्मी कार्टर र जर्ज एचडब्लु बुस । महाअभियोग निश्चित भएपछि राजीनामा दिएका राष्ट्रपति रिचर्ड निक्सनको स्थानमा उपराष्ट्रपति फोर्ड सन् १९७३ मा पदोन्नति भएका थिए । फोर्डले निक्सनलाई ह्वाइटहाउसमा बसेर गरेका सम्पूर्ण अपराधबापत आममाफी दिए । तर, निक्सनको वाटरगेट काण्डबाट आजित मतदाताले फोर्डको आममाफी मन पराएनन् र सजाय चुनावमा दिए । कार्टर पनि दोस्रो कार्यकालका लागि चुनिन सफल भएनन् । अरब क्षेत्रको अस्थिरताका कारण बढ्दो मुद्रास्फीति र संकुचित आर्थिक वृद्धिको दोष मतदाताले कार्टरलाई दिए । सन् १९८० को चुनाव कार्टरले हारे, रिपब्लिकन रोनाल्ड रेगन राष्ट्रपति चुनिए । रेगनको उपराष्ट्रपति रहेका बुस १९८८ मा राष्ट्रपति निर्वाचित भए । ९० को दशकको आर्थिक मन्दीकै कारण १९९२ को चुनावमा उनी डेमोक्रेटिक बिल क्लिन्टनसँग पराजित हुन पुगे । ट्रम्प यसपालि निर्वाचित हुन असफल भए भने सन् १९०० यता एक कार्यकालमा सीमित हुने सातौँ राष्ट्रपति बन्नेछन् ।
हिलारी क्लिन्टनले जितेका राज्यसहित तीन राज्य पेन्सिलभेनिया, मिसिगन र विसकनसन मात्र फर्काउन सफल भए बाइडेन राष्ट्रपति निर्वाचित हुनेछन् । यीबाहेक ट्रम्पले जितेका नर्थ क्यारोलिना, फ्लोरिडा, एरिजोनाजस्ता राज्यमा पनि बाइडेनको प्रस्ट अग्रता छ ।
भाइरस संक्रमणबाट ध्यान मोड्न ट्रम्पले झुटा तर्कको निरन्तर साथ लिइरहेका छन् । हुँदाहुँदा अहिले ट्रम्प आफूले जनस्वास्थ्यविज्ञहरूको राय नटेरेकै कारण लाखौँ अमेरिकीको ज्यान जोगाएकोसमेत दाबी गर्न थालेका छन् । आफ्नै प्रशासनका जनस्वास्थ्यविज्ञहरूलाई साइजमा राख्न न्युरोलोजिस्ट डा. स्कट अटलसलाई ह्वाइटहाउस कोरोना भाइरस टास्कफोर्समा नियुक्त गरेका छन् । अटलस त्यही भन्छन्, जुन ट्रम्प सुन्न चाहन्छन् । मास्कले भाइरस प्रसार रोक्ने वैज्ञानिक तर्क गलत रहेको अटलसको दाबी छ । ट्रम्प त्यही दाबीअनुसार कोरोना भाइरस लागेका ८५ प्रतिशतले मास्क लगाएको बताउँदै हिँडेका छन् । चुनाव नजिकिँदै जाँदा जनस्वास्थ्यप्रति सरकार आवश्यक गम्भीर नभएको बताउने विज्ञहरू ट्रम्पको तारो बन्न थालेका छन् । सरुवा रोग नियन्त्रण र नीति तर्जुमामा अमेरिकामै सर्वाधिक आदर गरिने डाक्टर एन्थोनी फाउसीप्रति ट्रम्प पछिल्लो समय खनिइरहेका छन्।
भाइरस नियन्त्रणमा ट्रम्प प्रशासनको बेवास्ताको परिणामस्वरूप चुनाव नजिकिँदै जाँदा कोरोना संक्रमण फेरि उकालो लागेको छ । दैनिक संक्रमितको संख्या ९० हजार नाघेको छ । तर पनि उनी हजारौँ समर्थक भेला गरेर सभा गर्नमै आफ्नो राजनीतिक लोकप्रियता दाबी गरिरहेका छन् । बाइडेनका छोरा हन्टरलाई जोडेर उनी बाइडेनलाई भ्रष्ट र अपराधीको संज्ञा दिइरहेका छन् । हन्टरले युक्रेनी ऊर्जा कम्पनीको सञ्चालक समितिमा मनोनीत हुन आफ्ना बाबुको उपराष्ट्रपति पदको नाजायज फाइदा उठाएको ट्रम्पको दाबी छ । तर, त्यसको कुनै पनि पुष्टि हुने आधार छैन । ट्रम्पको हर्कतले अमेरिकी लोकतन्त्रलाई नै धरापमा पारेको भन्दै कैयन् रिपब्लिकन नेताले बाइडेनलाई जिताउन आह्वान गरिसकेका छन् ।

झिनो मतान्तरको जित निकालेर राष्ट्रपति पद हत्याउन सफल भएका राज्यमा पनि ट्रम्प यसपालि धेरै तल छन् । थोरै मतान्तरले जित–हार हुने १२ ब्याटलग्राउन्ड राज्यमध्ये ११ मा बाइडेनले उछिनेका छन् । ग्यालपलगायतका स्तरीय सर्वेक्षणमा ५० प्रतिशत एप्रुभल रेटिङ एकपटक पनि नछोई कार्यकाल पूरा गर्ने आधुनिक कालखण्डको पहिलो राष्ट्रपति ट्रम्प नै बनेका छन् । रिपब्लिकनप्रति झुकाव राख्ने रास्मुसेनलगायत केही सर्वेक्षकले वेलावेला उनको एप्रुभल रेटिङ ५० प्रतिशतमाथि देखाउँदा ट्रम्पले खुसीले ट्विट गर्दै आएका छन् ।
सन् २०१७ मा डोनाल्ड ट्रम्प पेन्सिलभेनिया, मिसिगन र विसकनसनमा कुल ७७ हजार मतान्तरले विजयी हुँदा राष्ट्रपति पद उनको पोल्टामा परेको थियो । डेमोक्र्याटले जित्दै आएका यी राज्यमा एक प्रतिशत बिन्दुभन्दा कम मतान्तरको विजयले ट्रम्पको भागमा ४६ इलेक्टोरल मत थपियो । दुई वर्षअघि सम्पन्न मध्यावधि निर्वाचनमा तीनवटै राज्यस्तरका चुनावमा डेमोक्र्याटले जित फर्काउन सफल भएका थिए । र, अहिले पनि हरेक सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा अगाडि छन् । हिलारी क्लिन्टनले जितेका राज्यसहित यी तीन राज्य मात्र फर्काउन सफल भए बाइडेन राष्ट्रपति निर्वाचित हुनेछन् । यीबाहेक ट्रम्पले जितेका नर्थ क्यारोलिना, फ्लोरिडा, एरिजोनाजस्ता राज्यमा पनि बाइडेनको प्रस्ट अग्रता छ । जर्जिया, ओहायो, आइवा मात्र होइन, टेक्सासजस्तो रिपब्लिकनबहुल राज्यमा पनि बाइडेन र ट्रम्पको बीचमा कडा टक्कर देखिएको छ । यसै कारण विश्लेषकहरूले यसपालि बाइडेनको जित्ने सम्भावना ९० प्रतिशत हाराहारी पुगेको प्रक्षेपण गरेका छन् ।
कोरोनाका कारण यसपालि धेरै अमेरिकीले मेल इन ब्यालेट (मतपत्र घरमै मगाएर हुलाकबाट भोट पठाउने) एवं अर्ली भोटिङ (अग्रिम भोट खसाल्ने) उपाय रोजेका छन् । शुक्रबार साँझसम्ममा नौ करोड अमेरिकीले भोट खसाइसकेका छन् । यो २०१६ मा खसेको कुल मतको ६५ प्रतिशतभन्दा बढी हुन आउँछ । सन् २०१६ मा कुल १३ करोड ७० लाख मत खसेको थियो । अघिल्लो चुनावमा धेरै डेमोक्रेटिक मतदाता घरै बसेका कारण हिलारीको हार भएको विभिन्न अध्ययनले पुष्टि गरेका कारण यसपालि सुरुदेखि नै डेमोक्र्याटहरूले आफ्ना समर्थकलाई भोट हाल्न आह्वान गर्दै आएका छन् । २०१६ मा भोट नहालेका धेरै महिला एवं काला जातिका मतदाताले यसपालि भोट खसाल्ने प्रक्षेपण गरिएको छ । उपराष्ट्रपतिमा काला जातिकै महिला कमला ह्यारिसको उम्मेदवारीले उनीहरूलाई थप उत्साहित बनाएको हो । मेल इन ब्यालेट अनुरोध गर्ने मतदाताको संख्या करोडमाथि छ । भोट हाल्न यो उपाय रोज्नेमा बहुमत डेमोक्र्याट छन् ।
बाइडेनलाई नगदको साथ : कोरोना भाइरस संक्रमण, कमजोर अर्थतन्त्र, जनताबीच अलोकप्रिय छविजस्ता चुनौतीबीच राष्ट्रपति ट्रम्पलाई चुनावको मुखमा पैसाको पनि समस्या आइलागेको छ । निर्वाचित भएलगत्तैदेखि दोस्रो कार्यकालको चुनाव लड्न चन्दा उठाउन थालेका ट्रम्पले अहिलेसम्म एक अर्ब डलर हाराहारी संकलन गरे पनि नगद व्यवस्थापनमा गम्भीर त्रुटि देखिएको हो । सोही कारण चुनावको मुखमा उनीसँग बाइडेन क्याम्पेनको तुलनामा एकतिहाइ हाराहारी मात्र नगद रहेको रिपोर्ट सार्वजनिक भएको छ ।
पर्याप्त नगद हातमा भएको उम्मेदवारले अन्तिम समयसम्म अनिर्णित मतदातालाई विज्ञापनमार्फत आफ्नो सन्देश पु¥याई आकर्षित गर्न सक्छ । बाइडेनले १७ करोड ७० लाख डलर हातमा लिएर अक्टुबर महिनामा प्रवेश गर्दा ट्रम्पसँग ६ करोड ६१ लाख डलर मात्र थियो । अगस्ट र सेप्टेम्बर महिनामा बाइडेनले क्रमशः ३६ करोड ४५ लाख र ३८ करोड ३० लाख चन्दा उठाउँदा ट्रम्प २१ करोड र २४ करोड ७८ लाख संकलन गर्न सफल भएका थिए ।
डेमोक्रेटिक आममतदाताको उत्साह बाइडेनको चन्दा संकलनमा पनि देखिन्छ । उनलाई दशौँ लाख सर्वसाधारणले स–सानो रकम चन्दा दिएका छन् । बाइडेनले अगस्टयता हरेक महिना सर्वाधिक चन्दा संकलनको रेकर्ड बनाउँदै आएका छन् । यी सबै पृष्ठभूमिबीच नोभेम्बर पहिलो साता आगामी चार वर्षका लागि ह्वाइटहाउसमा को बस्ने हो भन्ने तय हुँदै छ । जसले जिते पनि दुवैका लागि यो चुनाव अन्तिम हुने सम्भावना छ । ७८ वर्ष पुगिसकेका बाइडेन चार वर्षपछि ८२ वर्षको उमेरमा दोस्रो कार्यकालका लागि उम्मेदवार बन्लान् भन्नेमा उनकै समर्थक विश्वस्त छैनन् । ७४ वर्षीय ट्रम्पले जितेमा संवैधानिक रूपले नै उनलाई अर्काे चुनाव लड्न बन्देज लाग्नेछ ।