कोरोना संक्रमण फैलिन नदिन सरकारले भिडभाडयुक्त कार्यक्रममा रोक लगाएको छ । सरकारी निर्देशन बेवास्ता गर्दै भिड जम्मा गरी १८ कात्तिकमा चितवन माडी–९ गणेशगुञ्जमा सुन्दरकाण्ड संगीतमय पारायण हुँदै छ । तर, कोभिड संकटबीच राज्यले मध्य वर्षात्मा घरवारविहीन बनाएका चेपाङ परिवारलाई वास दिने विषय अदालतमा पुगेको बताउँदै सबै पक्ष मौन छन् ।
अमेरिका बस्ने नेपालीले २६ भदौमा गठन गरेको ‘राम–जानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्रीराम)’ र ‘अयोध्या अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समिति, माडी’ले पारायण आयोजना गरेका हुन् । श्रीराम संस्थाका पूजा समिति संयोजक तुलसीराम शर्माका अनुसार करिब तीन घन्टा सुन्दरकाण्ड संगीतमय कथावाचन हुनेछ ।
पारायण आयोजना हुन लागेको त्यही वडा हो, जसको कुसुम खोला क्षेत्रमा ०५३ देखि चेपाङ परिवार बस्दै आएका छन् । धादिङ र मकवानपुरबाट उनीहरू यहाँ आएका हुन् । गत ३ साउनमा चितवन राष्ट्रिय निकुन्जले घरमा आगो लगाउँदै सात दिनभित्र बस्ती खाली गर्न चेपाङ समुदायलाई आदेश दिएको थियो । निकुञ्ज र सेनाको टोलीले ३ साउनमा कुसुमखोलाका काजिमान र जितबहादुर चेपाङको घरमा आगो लगाएको थियो । अन्य आठ घर हात्ती लगाएर भत्काइएको थियो ।
घटनालगत्तै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्काल बस्ती नहटाउन १५ साउनमा निकुञ्जका नाममा अन्तरिम आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि चेपाङ परिवारले क्षतिपूर्ति र राहत त पाएका छैनन् नै, नयाँ घर पनि बनाउन सकेका छैनन् । उनीहरूलाई कहाँ स्थानान्तरण गर्ने भन्ने पनि टुंगो लागेको छैन । घरबारविहीन बनेका परिवार कोही सानो छाप्रो बनाएर बसेका छन् भने कोही आफन्तको शरण परेका छन् ।
सुरुमा त्यस क्षेत्रमा एक सय ६० चेपाङ परिवार बस्न थालेका थिए । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । ११ घरपरिवार भने अहिले पनि कुसुम खोला क्षेत्रमै बसिरहेका छन् ।
आन्दोलनमा उत्रिने चेतावनी
माडीमा राममन्दिर बन्ने कुरा सुने पनि आफूहरूको बस्ने ठेगान नहुँदा त्यसमा रौनक नलागेको कुसुम खोला बस्ती व्यवस्थापन संघर्ष समिति सचिव कमल चेपाङ बताउँछन् । ‘हामीलाई राममन्दिरभन्दा बस्ती महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘हाम्रा लागि सरकारले वास व्यवस्थापन नगरिदिने र मन्दिर निर्माणलाई प्राथमिकता दिने हो भने आन्दोलनमा उत्रिनुको विकल्प छैन । हामी पनि यही देशका नागरिक हौँ । रामलाई मन्दिर बनाएर नेपालको नागरिक बनाउँदै गर्दा सरकारले हामीलाई बिर्सन मिल्छ ?’
कुसुमखोलाबाट विस्थापित भएका र त्यहीँ बसिरहेका विपन्नलाई व्यवस्थापन गर्न नगरपालिकाले पहिलो चरणमा प्रदेश सरकार, नगरपालिका र दाताको सहयोगमा ९० वटा घर निर्माण थालेको थियो । तर, निकुञ्जले काम अगाडि बढाउन दिएन । माडी–९ राईटोलमा ४० वटा घर बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्तापाता हाल्न दिएन । माडी–७ का देवेन्द्रपुरको परोई खोलाकिनारमा ५० वटा घर बनाउन पोल गाड्दै गर्दा निकुञ्जले रोक्यो । त्यहाँ पनि १३ वटा घरमा निर्माणका लागि सिमेन्टका पोल गाड्ने क्रममा निकुञ्जले रोकेको माडीका मेयर ठाकुरप्रसाद ढकाल बताउँछन् । जसका कारण निर्माण सामग्री अलपत्र परेका छन् ।
प्रधानमन्त्री केपी ओलीसँगको भेटमा बिचल्लीमा परेका चेपाङको समस्या उठाएको बताउने मेयर ढकाल प्रधानमन्त्रीकै निर्देशनका कारण चेपाङको घरभन्दा राममन्दिरकै मुद्दामा बढी केन्द्रित देखिन्छन् । तथापि, राममन्दिर बनाउँदै गर्दा चेपाङका झुप्रा पनि उठ्नुपर्ने कुरामा अडिग रहेको उनी दाबी गर्छन् । ‘कम्युनिस्ट पार्टीको सरकार भएका वेला गरिबका घर भत्काउने र मन्दिर मात्र बनाउने हो भने चेपाङ परिवारमाथि अत्याचार हुनेछ,’ उनी भन्छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल वन अतिक्रमण गरेर बस्ती बस्न नदिने मात्र आफूहरूको काम भएको बताउँछन् । ‘बसिसकेको बस्ती स्थानान्तरणको काम अन्य निकाय हो,’ उनी भन्छन् । नगरपालिकाको नेतृत्वमा बनाउन लागिएका ९० वटा घर पनि प्रक्रिया पूरा नभएका कारण रोक्नुपरेको बरालको भनाइ छ । ‘प्रक्रिया पूरा गरी सरकारको स्वीकृति लिएर आएमा हाम्रो अवरोध हुँदैन,’ उनी भन्छन् ।
सय बिघामा पार्कसहित राममन्दिर निर्माण प्रस्ताव
यसैबीच, माडी–१ स्थित बाल्मीकि आश्रमदेखि ठोरी गाउँपालिकालाई समेत समेटेर बृहत्तर अयोध्या विकास परियोजना तयार हुँदै छ । माडी नगरपालिकाको कार्यपालिका बैठकले वडा नम्बर ९ स्थित कृष्णनगर पार्कमा राममन्दिर निर्माणका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त पार्क एक सय बिघामा फैलिएको छ । राममन्दिरका लागि माडी–८ दक्षिण अयोध्यापुरी क्षेत्रमा थप ५० बिघा छुट्याइएको नगरपालिकाले जनाएको छ । माडी–९ गणेशगुञ्ज, माडी–७ शनिमन्दिर र माडी–१ गोद्धकधाम क्षेत्रलाई अन्य धाम तथा पार्कका लागि प्रस्ताव गरिएको छ ।
राममन्दिर निर्माणमा प्रधानमन्त्री अडिग
२९ असारमा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती समारोहमा काठमाडौं बालुवाटारमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि भारतको अयोध्या नभई चितवन अयोध्यापुरी भएको दाबी गरेका थिए । त्यसपछि नेपाल–भारत दुवैतिर चर्चामा आएको अयोध्यापुरीमा अध्ययन, अनुसन्धान तथा व्यवस्थापन समिति नै गठन गरेर काम अगाडि बढाइएको छ ।
प्रधानमन्त्रीले राममन्दिरका लागि बजेट कमी हुन नदिइने बताएपछि धार्मिक÷पुरातात्विक खोजीलाई तीव्रता दिइएको छ । माडी–९ का वडाध्यक्ष शिवहरि सुवेदीसँग साउन अन्तिम साता टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले तत्काल काठमाडौं आउन निर्देशन दिएका थिए । त्यसलगत्तै माडीका मेयर ढकाल नेतृत्वमा एउटा टोली बालुवाटार पुगेको थियो । त्यतिवेला दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडी अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए । माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने तयारी गर्न पनि ओलीले निर्देशन दिएका थिए । प्रधानमन्त्रीले सोही भेटमा सीता र रामको मूर्ति काठमाडौंबाट पठाइदिने र ०७८ को रामनवमीसम्ममा उद्घाटन गर्ने गरी पूर्वाधार निर्माण सक्न निर्देशन दिएका थिए ।