जुम्लाको तातोपानी गाउँपालिकास्थित लाम्रा स्वास्थ्य चौकीका इन्चार्ज शिवराज न्यौपानेलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा इन्चार्ज न्यौपानेलाई कोरोना संक्रमण देखिएको हो ।
तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार स्वास्थ्य चौकीका इन्चार्जलाई नै संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । शुक्रबारदेखि तीन दिनका लागि स्वास्थ्य चौकी सिल गरिएको उनले बताए । यसअघि हाँकु स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर भण्डारीलाई पनि कोरोना संक्रमण भएको थियो । उनी अहिले निको भइसकेका छन् ।
सक्रिय संक्रमित ४५ जना
शुक्रबारसम्म जुम्लामा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । यससँगै अहिलेसम्म संक्रमित हुनेको संख्या तीन सय ४२ पुगेको छ । उनीहरूमध्ये दुई सय ९७ जना निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कम्प्युटर अपरेटर हरिकृष्ण महतले बताए ।