झडप र बम विस्फोटमा दुई कमान्डरसहित १० तालिबानी लडाकुको मृत्यु

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षा बल र तालिबानी लडाकुबीच भएको झडपको क्रममा तालिबानका एक कमान्डरसहित पाँचको मृत्यु भएको छ ।

एक कमान्डरसहित मारिएका तालिबानका यी सदस्यहरू हालै मात्र जेलमुक्त भएका थिए । 

अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्तिवार्ताका लागि अमेरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकुलाई जेलमुक्त गरिएको थियो ।

काबुलमा अधिकारीहरूले रिहा गरेका कैदीहरूमध्ये एक कमान्डरसहित कम्तीमा पाँचजना तालिबानी मारिएका स्थानीय प्रहरी प्रमुख हेक्मतुल्लाह कोचीले बुधबार बताए । 

कोचीले हालै जेलमुक्त भएका पाँच हजार तालिवान कैदीबीच छुटेका कमान्डर अहमद शाहलाई गोली हानेर मारेको एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । 

अफगान सुरक्षा बलको स्थानीय चौकीमा आक्रमण गर्न आएका यी पाँच तालिबान लडाकु मारिनुको साथै अरू दुई तालिबानी लडाकु घाइते भएका कोचीले बताए । 

यस्तै उत्तरपूर्वी अफगान प्रान्तको कुन्दुज प्रान्तमा बम विस्फोटमा एक कमान्डरसहित पाँच तालिबानी लडाकूको मृत्यु भएको समाचारमा उल्लेख छ । 

तरनाब इलाकामा भएको उक्त बम विस्फाेटमा परी मोहम्मद भनेर चिनिने एक कमान्डरसहित पाँचजना तालिबानी लडाकु मारिनुको साथै अन्य पाँच घाइते भएका अफगान सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

 यस घटनाको विषयमा तालिबानी लडाकु समूहले भने केही टिप्पणी गरेकाे छैन ।

तस्बिर : उर्दूपाेइन्ट डटकमबाट

सुझावित समाचार