बर्दियामा बाघको आक्रमणबाट दुई युवाको मृत्यु

मंगलबार, ११ कार्तिक, २०७७
डिजिटल संस्करण

बर्दियाको मधुवन नगरपालिका- ३ को भगरैयामा बाघकाे आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । भारतसँग सिमाना जोडिएको बेलझुन्डी सामुदायिक वनमा बाघकाे आक्रमणबाट दुईजनाको मृत्यु भएको हो । 

बाघको आक्रमणबाट मृत्यु हुनेमा मधुवन नगरपालिका- ३ बस्ने २७ वर्षीय दिनेश थारू तथा सोही ठाउँका २६ वर्षीय रमेश चौधरी छन् । 

धनौराको बेलझुन्डी सामुदायिक वनमा दिनेश थारू करिब १० बजेतिर च्याउ खोज्न गएका थिए । उनलाई सोही समयमा बाघले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । दिनेशलाई खोज्न गएका रमेशलाई बाघले आक्रमण गरेको मधुवन नगरपालिका– ३ का वडाध्यक्ष नारायण मल्लले बताए । 

उनले नेपालको सामुदायिक वनमा बाघले आक्रमण गरी भारतको ८१ नं. पिल्लर देखि ५ सयमिटर भित्रसम्म पुऱ्याएको बताए । 

केही दिनअघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघकाे आक्रमणबाट मधुवन नगरपालिका– ३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको मृत्यु भएको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भारतको सीमावर्ती क्षेत्रमा बाघको आक्रमणबाट धेरै मानिसकाे ज्यान गएको बताए । उनले भने, ‘नरभक्षी बाघ हुन सक्ने भएकाले हामी तत्काल बैठक बसेर त्यसको व्यवस्थापनका लागि पहल गर्छौँ ।’ 
 

सुझावित समाचार