९८ दिनपछि भारतमा एकैदिन थपिने नयाँ संक्रमित ४० हजारभन्दा कम

मंगलबार, ११ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा कोरोनाका नयाँ संक्रमित दिनहुँ घट्दै गएका छन् । सोमबार भने ९८ दिनपछि पहिलोपटक दैनिक थपिने नयाँ संक्रमित ४० हजारभन्दा कममा सीमित भयो ।

भारतमा सोमबार गरिएको परीक्षणमा जम्मा ३५ हजार नौ सय ३२ नयाँ संक्रमित थपिएका छन् । यसअघि २१ जुलाईमा ३९ हजार एक सय ७० जना नयाँ संक्रमित थपिएका थिए । त्यसयता दैनिक नयाँ संक्रमित थपिने क्रम निरन्तर बढेर झन्डै एक लाखसम्म पुगेको थियो । 

अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या ७९ लाख ४४ हजार एक सय २८ पुगेको छ । त्यसमध्ये ७१ लाख ९८ हजार ६ सय ६० जना निको भइसकेका छन् ।  

संक्रमणबाट बढी प्रभावित पाँच देशमध्ये संक्रमित निको हुने दर भारतमा सबैभन्दा राम्रो छ । भारतमा ९० प्रतिशत संक्रमित निको भएका छन् । 

त्यसैगरी सोमबार चार सय ८२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । दैनिक मृत्यु हुने संख्या पनि घटेको छ । एक सय १३ दिनपछि एकैदिन पाँच सयभन्दा कमको मृत्यु भएको हो । ५ जुलाईमा चार सय २१ जनाको मृत्यु भएको थियो । भारतमा हालसम्म संक्रमणबाट एक लाख १९ हजार पाँच सय ३५ जनाको मृत्यु भएको छ । 

सुझावित समाचार