दोस्रोपटक कोरोना शून्य बनेको जुम्लामा थपिए ३९ संक्रमित

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा संक्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना संक्रमण बढ्दै गएको हो । 

जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै संक्रमित निको भएपछि दोस्रोपटक संक्रमण शून्य भएको थियाे ।   

यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्त व्यक्ति कोरोना संक्रमित भइसकेका छन् । तर, कोरोना संक्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन । 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ । 

गएको चैतयता जुम्लामा संक्रमित हुनेको संख्या दुई सय ९७ पुगेको छ । आइतबारसम्म ३९ जना सक्रिय संक्रमित रहेका छन् । 

दुई सय ५८ जना निको भएर घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार सक्रिय संक्रमित १३ जना संस्थागत आइसोलेसनमा २६ जना होम आइसोलेसनमा रहेका छन् । 

चाडपर्वमा जो जहाँ छौँ त्यहीँ रहनु 

नजिक आउँदै गरेका चाडपर्वमा जो जहाँ छौँ, त्यही रही अनावश्यक जमघट र यात्रा नगर्न तथा आफ्नै परिवारमा मात्रै रमाउन स्थानीय प्रशासनले अपिल गरेको छ । त्यसैगरी जिल्लाभित्र कुनै मेला, जात्रा, महोत्सव, खेलकुद तथा अनावश्यक भिडभाड नगर्न पनि सूचित गरेको छ ।  

चाडवर्पमा सामान किनमेल गदौ भौतिक दूरी कायम गर्नेदेखि मास्क, स्यानिटाइजर प्रयोग गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ । 

बेलुका ८ बजेपछि मदिरा बन्द 

बेलुका ८ बजेपछि मदिरा तथा मदिराजन्य पदार्थ बिक्री–वितरण, सेवन गर्न पाइनेछैन । स्थानीय प्रशासनले भनेको छ– मदिराजन्य पदार्थ सेवन गरी हिँडेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ । 

त्यस्तै जुवातास, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा असुल्ने र मदिरा सेवन गरी सवारीसाधन चलाउने, यात्रुलाई अभद्र व्यवहार गर्ने, गन्तव्यसम्म नपुऱ्याउने, सडक अवरुद्ध गरी पार्किङ गर्नेलाई पनि कानुनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । 

सुझावित समाचार