महामारीका वेला पत्रकारले खेपेका समस्या समाधान गर्न केन्द्रित हुन्छु : मन्त्री गुरुङ

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले महामारीका वेला पत्रकारले खेप्नुपरेका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन् ।  

नवनियुक्त मन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरूले ठूलो समस्या भोग्नुपरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना रहेको बताए । 

नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आइतबार पुल्चोकस्थित मन्त्रीनिवासमा भएको सामूहिक भेटमा उनले सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै सञ्चार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे ।

‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु ।’ 

छलफलमा अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण पत्रकारहरूले भोग्दै आएका समस्या, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयताअनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ नगर्न ध्यानाकर्षण गराएका थिए । 

सुझावित समाचार