धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको बुधबार राति होम आइसोलेसनमा मृत्यु भयो । धरानस्थित बिपी प्रतिष्ठानमा बेड सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति नै धरान– ९ का ५८ वर्षीय पुरुषको पनि मृत्यु भयो ।
उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ अस्पताल पुर्याउनेबित्तिकै उनको ज्यान गएको वडा नम्बर ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । धरान– २ का ८९ वर्षीय अर्का पुरुषको सोमबार बिहान होम आइसोलेसनमै मृत्यु भयो ।
अस्पताल लैजान लाग्दा भेन्टिलेटर अभाव भएको भनेपछि परिवारले घरमै राखे । एक साताअघि धरान–८ का ५२ वर्षीय पुरुष धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भयो । प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनको ज्यान गयो ।
धरानमा मात्र अस्पताल जान नपाई पाँचजनाको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । बिपी प्रतिष्ठानको तथ्यांकअनुसार बिहीबार बिहानसम्म ५८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रदेश १ मा आइतबार ६, सोमबार चार, मंगलबार तीन, बुधबार चार र बिहीबार नौजना संक्रमितको मृत्यु भएकोे सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।
प्रदेश सरकारले जेठमै दुई हजार शय्याको आइसोलेसन वार्ड बनाउने घोषणा गरेको थियो । तर, अहिलेसम्म काम सुरु भएको छैन । प्रत्येक स्थानीय तहमा १५ शय्याको आइसोलेसनसहितकोे अस्पताल निर्माण गर्ने भनिए पनि कुनै स्थानीय तहले सञ्चालन गर्न सकेका छैनन् ।
बिमारीको चाप भने अस्पतालमा थेग्न नसक्ने भएको छ । धरानको बिपी प्रतिष्ठानले बिमारीको चाप थेग्न नसक्ने भन्दै अस्पतालसँग समन्वय गरेर मात्र बिरामी ल्याउन अस्पताल प्रशासनले केही दिनअघि सूचना नै जारी गरेको छ । अस्पतालले धान्न नसकेको भन्दै अस्पताल प्रशासनले स्थानीय तहलाई लकडाउन गर्नसमेत सुझाब दिएको थियो ।
पछिल्लो समय संक्रमित चौगुणा बढेका छन् । एक साताअघि धरानमा दैनिक ३०–३५ जना संक्रमित पुष्टि हुँदै आएकोमा सोमबारदेखि बिहीबारसम्म एक सय १० देखि दुई सय ९२ जना सम्ममा संक्रमण पुष्टि भएको छ । बिपी प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले लक्षणसहितका बिमारी बढ्दो क्रममा रहेको र मृत्यु संख्या बढेको बताए । ‘अबको अवस्थामा धेरै संक्रमितकाे भेन्टिलेटर नपाएर मृत्यु हुने सम्भावना बढेको छ । प्रतिष्ठानमा भेन्टिलेटरको आवश्यकता छ । तर, स्राेतसाधनको अभाव छ ।’
प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानमा १० वटा भेन्टिलेटर राखिए पनि ६ वटाले जडान गर्दै काम नदिएर ठेकेदार कम्पनीलाई बनाउन फिर्ता गरिएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पछिल्लो समय लक्षणसहितका संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेको बताउँदै त्यसका लागि आवश्यक व्यवस्थापन गर्न प्रदेश सरकार जुटिरहेको बताए ।