पछिल्लो २४ घन्टामा देशभर थप तीन हजार सात सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १६ हजार पाँच सय ९८ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ ।
आज तीन हजार पाँच सय ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ८४ हजार पाँच सय १८ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित निको हुने दर ६९.४ प्रतिशत रहेको बताए ।
हाल सक्रिय संक्रमितको संख्या ३६ हजार पाँच सय ३३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार तीन सय ३९ जना र होम आइसोलेसनमा २४ हजार एक सय ९४ जना रहेका छन् ।
त्यसैगरी संक्रमितमध्ये तीन सय १४ जना आइसियूमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।