पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १३ हजार नौ सय ४७ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख १७ हजार नौ सय ५६ पुगेको छ ।
आज दुई हजार एक सय ७४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ८० हजार नौ सय ५४ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित निको हुने दर ६८.६ प्रतिशत रहेको बताए ।
हाल सक्रिय संक्रमितको संख्या ३६ हजार तीन सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार आठ सय १९ जना र होम आइसोलेसनमा २१ हजार पाँच सय ४८ जना रहेका छन् ।
त्यसैगरी संक्रमितमध्ये तीन सय पाँचजना आइसियूमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।