१९ वर्षे जर्ज एलेक्सनियन शरण लिइरहेका अस्पतालबाट स्ट्याप्नेकर्ट सहरको आकाशमा उडिरहेका आत्मघाती ड्रोनका आवाज सुन्न सक्छन् । केही दिनअघि एउटा त्यस्तै ड्रोन अस्पतालतर्फ नै हानिएको थियो । तर, ड्रोन विस्फोट हुनुअघि खसालियो । यसका बाबजुद अस्पताल घरभन्दा सुरक्षित भएको जर्जको विचार छ । उनकी दिदी डाक्टर हुन् र उनी माथिको तलामा काम सकाएपछि भुइँमा सुत्छिन् । अस्पताल बिरामीले भरिएकाले अरू विकल्प छैन ।
अर्मेनिया र अजरबैजानबीच युद्ध भड्किएसँगै स्ट्याप्नेकर्टमाथि मिसाइल तथा ड्रोन आक्रमण बढेको छ । हालसम्म सबुत रहेका घरमध्ये एउटा स्वघोषित आर्टसाख गणतन्त्रको नेसनल एसेम्बली पनि एउटा हो । स्ट्याप्नेकर्ट यही गणतन्त्रको राजधानी हो । अन्तर्राष्ट्रिय क्षेत्रमा नागोर्नो–काराबाखको नामले चिनिने यो भूभागको स्वतन्त्रता घोषणालाई धेरै देशले स्विकारेका छन् । यो भूभाग अजरबैजानभित्र पर्छ भने त्यहाँ बसोवास गर्ने बहुसंख्यक अर्मेनियाली जातिका छन् । अहिले यो क्षेत्रमा पुनः युद्ध भड्किएको छ र विभिन्न समयमा भएका संघर्षमा सयौँको ज्यान गइसकेको छ । पछिल्लो संघर्षमा टर्की र रुस पनि तानिएका छन् । अमेरिकी सहभागिताविना त्यहाँको अवस्था नियन्त्रणबाहिर जान सक्छ ।
यो द्वन्द्व सोभियत संघको समयबाटै सुल्झिएको छैन । सन् १९२३ मा कम्युनिस्ट शासकले नागोर्नो–काराबाख र यहाँको अर्मेनियाली समुदायलाई अजरबैजान सोभियतको सीमाभित्र राखिदियो । तर, अजरबैजानभित्र रहे पनि यो भूभाग विशेषाधिकार प्राप्त उच्च स्व–शासनयुक्त क्षेत्र थियो । सन् १९९१ मा सोभियत संघ विघटन हँुदा यस क्षेत्रले पनि स्वतन्त्रता घोषणा गर्यो । लगत्तै सुरु भएको युद्ध सन् १९९४ मा युद्धविराम भयो ।
२६ वर्षसम्म युद्धविराम कायम रह्यो । तर, विगत चार वर्षमा विभिन्न समय युद्धका छिटपुट घटना भएका छन् । पछिल्लो मुठभेट सेप्टेम्बर २७ बाट सुरु भएको हो । यसपटक विगतमा भन्दा केही फरक छ । अहिले अजरबैजानी सैन्य ड्रोन अर्मेनियाको राजधानी येरेभ्यानबाट २० माइल टाढासम्म उडिरहेका छन् भने अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जामा रहेको सैन्य अखडामा प्रहार गरिरहेको छ । आगामी निसाना अजरबैजानका तेल तथा ग्यास क्षेत्र पनि हुन सक्छ अथवा दुई देशका राजधानी पनि हुन सक्छन् ।
दुवैलाई हानि हुने अवस्थाले दुई देश सम्हालिएलान् भन्ने जुन धारणा थियो, त्यो यथार्थमा परिणत भएको छैन । अजरबैजानले नागोर्नो–काराबाख कब्जामा नलिएसम्म विश्राम नलिने घोषणा गरेको छ । अर्मेनियाले सो क्षेत्रको स्वतन्त्रताका लागि अन्तिम थोपा रगत बगाउन पनि तयार रहेको कसम खाएको छ । अहिलेको युद्ध विगतको भन्दा भयानक देखिएको छ ।
यदि सार्थक वार्ता अघि बढेन भने दुई देश मात्र युद्धमा तानिनेछैनन्, एउटा घातक क्षेत्रीय द्वन्द्व सुरु हुनेछ, जसले विश्वलाई अपुरणीय क्षति पुर्याउनेछ
अजरबैजानले हालसम्म विवादित नागोर्नो–काराबाख क्षेत्रमा मात्र हमला गरेको छ । अर्मेनियाली भूमिमाथि आक्रमण गर्यो भने रुस पनि तानिनेछ । रुस र अर्मेनियाबीचको सम्झौताअनुसार अर्मेनियामाथि आक्रमण भए रुसले सहयोग गर्ने उल्लेख छ । टर्की अजरबैजानको पक्षमा देखिन्छ । यसरी रुस र टर्की दुई विपरीत मोर्चामा हुँदा युद्धले विस्तारित क्षेत्रलाई प्रभावित बनाउनेछ ।
विगतमा मिन्स्क समूहको सह–अध्यक्षको हैसियतमा अमेरिकाले त्यस क्षेत्रमा विपत् आउन नदिने कदमको नेतृत्व गरेको थियो । सन् १९९४ को युद्धविरामपछि समूहले विभिन्न चरणको कूटनीतिक प्रयास प्रारम्भ गर्यो । त्यसमा अमेरिकाले सक्रिय कूटनीतिक भूमिका निभाएको थियो । तर, पछिल्लो समय अमेरिका शान्ति प्रक्रियाबाट पूर्णतः अनुपस्थित छ ।
दुई हप्ताको अकर्मण्यतापछि अघिल्लो बिहीबार मिन्स्क समूहका अन्य सह–अध्यक्ष राष्ट्र फ्रान्स र रुसले जेनेभामा बैठक बोलाए । तर, सन् २००७ देखि नै समूहबाट कुनै महत्वपूर्ण प्रस्ताव आएको छैन । अमेरिका पछि हटेबाट उनीहरू धेरै खुसी देखिँदैनन् । ‘एक दशकदेखि अमेरिका पछि हटेको मात्र देखिन्छ,’ हेनरिक बोल फाउन्डेसनका प्रमुख स्टेफन मेइस्टरले भने, ‘यो संकट उनीहरूले रुसको पोल्टामा हालिदिएका छन् ।’
तर, मिन्स्क समूहको डिजाइन नै अमेरिकाले नेतृत्व गर्ने हिसाबले निर्माण गरिएको छ । यसले सन् १९९० को दशकको शक्ति संरचना र राजनीतिक इच्छाशक्तिलाई प्रतिबिम्बित गर्छ । त्यस समय अमेरिका पूर्वी सोभियत संघले समेटेको क्षेत्रमा विकास र शान्ति कायम गर्न प्रतिबद्ध देखिन्थ्यो । अमेरिका पछि हट्दा पनि उसले आफ्नो स्थानमा अर्को देशलाई थपना पनि गरेन, न समूहको संरचना नै बदलियो ।
संरचना उही रहे पनि शान्ति प्रक्रिया अघि बढेन । यसबाट अजरबैजानको नेतृत्व चिडियो र उनीहरू शक्ति प्रयोगमार्फत समस्या समाधान गर्न अघि बढे । उसको साथमा टर्की आएपछि अवस्था झनै विकराल बनेको छ । स्ट्याप्नेकर्टमाथिको ड्रोन आक्रमण यसैको प्रतिफल हो । अहिलेको समस्या अमेरिकाबाहेक थोरै देशले मात्र रोक्न सक्छन् । अमेरिकासँग शान्ति प्रक्रिया सुचारु गर्न सक्ने सम्बन्ध सञ्जाल र रणनीतिक औजार छन् । तत्कालै कदम चालिएन भने परिस्थिति निकै भयावह हुन सक्छ ।
विश्वको प्रहरीको भूमिका निभाउनु अमेरिकालाई निकै महँगो साबित भएकाले ऊ हच्किएको हुन सक्छ । तर, धेरैको ज्यान जान सक्ने एउटा क्षेत्रीय युद्धलाई रोक्न सक्ने कूटनीति सहभागिताबाट उसलाई त्यति नोक्सान नहोला । अजरबैजानले संयुक्त राष्ट्रसंघले मान्यता दिएको सिमानाभित्रको सम्पूर्ण भूभागमाथि नियन्त्रण गर्ने आफ्नो अधिकार भएको दाबी गर्दै आएको छ । साथै, उसले सन् १९९० को दशकको युद्धबाट विस्थापित जनसंख्यालाई पुनस्र्थापित गर्नुपर्ने बताएको छ । त्यस समय ६ लाख मानिस विस्थापित भएका थिए ।
अर्मेनियाले नागोर्नो–काराबाखका बासिन्दासँग लोकतान्त्रिक आत्मनिर्णयको अधिकार भएको बताएको छ । उनीहरूमा अजरबैजानको प्रत्यक्ष शासनमा आउँदा नरसंहार हुने भय पनि छ । तर, सार्थक वार्तातर्फ अघि नबढेसम्म यी दाबीहरूको कुनै सुनुवाइ हुनेछैन । यदि वार्ताको सम्भावना सकिएमा दुई देश मात्र युद्धमा तानिनेछैनन् । यसले एउटा घातक क्षेत्रीय द्वन्द्व सुरु गराउनेछ, जसले विश्वलाई अपुरणीय क्षति पुर्याउनेछ ।
लारा सेट्राकियन न्युज डिप्लीका पत्रकार तथा प्रमुख कार्यकारी हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य