विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड– १९) चीनको बुहानबाट सुरु भएको विश्वभर बुझाइ छ । तर, चीनले आफूमाथि लगाउँदै आएको यो आरोप पटकपटक अस्वीकार गर्दै आएको छ । पछिल्लोपटक पनि चीनले पुनः आफूमाथि लाग्दै आएको आरोपको अस्वीकार गर्दै कोरोना भाइरस एक वर्षअघि नै विश्वका विभिन्न मुलुकमा फैलिसकेको दाबी गरेको छ । यस भाइरसबारे चीनले संसारलाई जानकारी दिएको उसको दाबी छ ।
केही समयअघि चिनियाँ अधिकारीबीच कोभिड–१९ बारे भएको छलफलमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआँ चुनयिङले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । प्रवक्ता चुनयिङ भन्छिन्, ‘कोरोना भाइरस नयाँ किसिमको भाइरस हो, यसबारेमा धेरै अनुसन्धान भएको छ, यसै क्रममा हामीलाई थाहा भयो कि गत वर्ष नै यो भाइरस फैलिसकेको रहेछ । बुहानबाट भाइरस फैलिएको होइन । बरु विश्वलाई चीनले यस भाइरससम्बन्धी जानकारी दिएको हो ।’
विश्वलाई बचाउने उद्देश्यका साथ चीनले कोभिड–१९ नियन्त्रण र उपचारको पहल सुरु गरेको प्रवक्ता चुनयिङको भनाइ छ । ‘यदि हामीले त्यसवेला भाइरसबारे जानकारी नदिएको भए, विश्वले कोरोना भाइरस भन्ने थाहा नै पाउँदैन थियो,’ उनले भनिन् । चुनयिङले बुहानको मासु मार्केट र ल्याबबाट कोरोना फैलिएको भन्ने तथ्य शतप्रतिशत झुटो भएको जनाए ।
चीनमा अहिलेसम्म ९० हजार सात सय ३६ जनामा कोरोना संक्रमण भएको थियो । जसमध्ये चार हजार सात सय ३९ व्यक्तिले ज्यान गुमाए । अमेरिकी विदेशमन्त्री माइक पोम्पियाले बुहानबाट कोरोना भाइरस फैलिएको पुनः दाबी गरेपछि चीनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । गत मंगलबार जापानको टोकियोमा अन्तर्राष्ट्रिय बैठकमा अमेरिकी विदेशमन्त्री माइकले यस्तो भनाई राखेका थिए । विदेशमन्त्री माइकले कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) ले भाइरस लुकाउने काम गरेको आरोप लगाएका थिए । ‘चीन सरकारले लामो समयसम्म कोभिड–१९ लुकायो, चीनकै कारण अहिले विश्वले महामारी सामना गरिरहेको छ, चीनले समयमै यसबारे जानकारी दिएको भए, कोभिड–१९ ले यो रूप लिने थिएन,’ माइकको दाबी थियो । चीनले कोरोना भाइरस अन्य प्रान्तमा फैलिन नदिन ३१ राज्यका अधिकारीसँग छलफल गरेको चुनयिङले बताए ।
डब्ल्युएचओको टोलीले चीनमा पुनः अनुसन्धान गर्ने
यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युुएचओ)को एक टोलीले चीनमा फेरि अनुसन्धान गर्ने भएको छ । गत अगस्टमा डब्ल्युुएचओको दुई सदस्यीय टोली चीनमा अनुसन्धान गर्न पुगेको थियो । यो टोलीले कोरोनाको आधिकारिक सोर्स पत्ता लगाउने दाबी गरिएको थियो । ‘हामीले भाइरस सम्बन्ध अनुसन्धान गर्न चीनमा एक टोली पठाउने निर्णय गरेका छौँ,’ डब्ल्युएचओले जारी गरेको विज्ञप्तिमा भानिएको छ, ‘यो कार्यमा चीनले समर्थन गरेको छ ।’
चीनले कोरोना भाइरस नियन्त्रण गर्न २३ जनवरीदेखि बुहानमा लकडाउन गरेको थियो । त्यसवेलासम्म चीनमा केवल नौजनामा मात्रै संक्रमण फैलिएको थियो । यसवेला अमेरिकामा एकजनामा व्यक्ति मात्र संक्रमण देखिएको थियो । त्यसपछि अमेरिकाले २ फेब्रुअरीमा चिनियाँ नागरिकमाथि प्रवेश रोक लगायो । चिनियाँ नागरिक प्रतिबन्ध लगाउँदा अमेरिकामा त्यसवेला १२ जनामा संक्रमण फैलिसकेको थियो ।
जोहन्स हापकिन्स विश्वविद्यालय कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म कोरोना भाइरसले तीन करोड ६० लाख व्यक्ति संक्रमित भएका छन् । दश महिनाको अवधिमा अमेरिकामा मात्रै ७९ लाख ४५ हजार संक्रमित छन् । दुई लाख १९ हजार अमेरिकी नागरिकको कोरोनाबाट ज्यान गइसकेको छ ।
डब्ल्युुएचओलाई युरोपको चिन्ता
डब्ल्युुएचओले युरोपमा दोस्रो चरणको संक्रमण पहिलेको तुलनामा डरलाग्दो हुन सक्ने जनाएको छ । यसको नियन्त्रणका लागि तत्कालै छलफल गर्नुपर्ने डब्ल्युुएचओको भनाइ छ । ‘हामीलाई प्राप्त तथ्यांकअनुसार युरोपको अवस्था निकै नराम्रो छ,’ डब्ल्युएचओका हेन्स क्लगले भने, ‘केवल विज्ञानले मात्र कोरोना निको हुने होइन, प्रत्येक व्यक्तिले यसको दायित्व र साहसिक निर्णय लिनुपर्छ ।’ अहिले युरोपमा स्पेन, रुस, फ्रान्स र बेलायत उच्च जोखिममा छन् । बेलायतले पुनः विभिन्न सहरमा लकडाउनको तयारी गरेको छ । यसैबीच, अस्ट्रेलियाको भिक्टोरिया राज्यले थप चार साता संकटकाल घोषणा गरेको छ ।
सुरक्षित उत्तर कोरिया
उत्तर कोरियाले कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रण भएको दाबी गरेको छ । यस भाइरसले उत्तर कोरियामा एकजनाको पनि निधन नभएको दाबी अधिकारीहरूले गरेका छन् । उत्तर कोरियाका नेता किमले एक सैनिक परेडमा भने, ‘उत्तर कोरियामा कोभिड–१९ ले एकजना पनि निधन भएको छैन, अहिलेसम्म देश सुरक्षित छ ।’ –एजेन्सीको सहयोगमा