महाव्याधिले सिकाएको पाठ : हामीले असमानतासँग जुझ्नुपर्छ

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

थप मृत्यु, भोकमरी तथा गरिबी छल्न विश्वभरका सरकारले असमानता घटाउन प्रतिबद्ध हुनुपर्छ 

‘न्युजिल्यान्डमा सुरक्षित भइएला कि दक्षिण कोरियामा’ कोभिड–१९ को महाव्याधि सुरु भएयता मैले थुप्रैपटक यो प्रश्नको सामना गरेको छु । पर्याप्त सुरक्षाको अनुभूति कहीँ हुँदैन । तर, केही मुलुक महाव्याधिको सवालमा अन्यभन्दा राम्रो अवस्थामा देखिएका भने छन् । मेरा अफ्रिकी सहकर्मी सेनेगल सुरक्षित छ भन्दै छन् । युरोपमा नर्वे तुलनात्मक रूपले बढी सुरक्षित होला । 

यो संकटसँग जुझ्न हाम्रा सरकारहरू कति तयार रहेछन् ? थप मृत्यु, भोकमरी र गरिबीलाई छल्न उनीहरूले के गरिरहेका छन् ? यो महाव्याधिको संकटबाट उनीहरू कसरी उठ्छन् ? हामीले सवाल उठाउनुपर्छ । डेभलपमेन्ट फिनान्स इन्टरनेसनल र अक्सफामले हालैमा प्रकाशित गरेको ‘कमिटमेन्ट टु रिड्युसिङ इनइक्वालिटी इन्डेक्स’ले श्रम अधिकार, कर तथा स्वास्थ्य खर्च, शिक्षा तथा सामाजिक सुरक्षाका आधारमा १५८ मुलुकलाई श्रेणीबद्ध गरेको छ । त्यो श्रेणीवद्ध सूचीले उल्लिखित महत्वपूर्ण सवालहरूको वैज्ञानिक जवाफका लागि तथ्यांक दिएको छ । यो प्रतिवेदनले यो महाव्याधिको समयमा केवल ६ मुलुकले मात्रै अन्तर्राष्ट्रिय मानकोस्तरमा (बजेटको १५ प्रतिशत) आधारभूत (स्वास्थ्य एवं राहतका लागि) स्तरको खर्च गरिरहेका छन् । त्यस्तै, विश्वभर केवल २२ प्रतिशत श्रमबल मात्रै सामाजिक सुरक्षाअन्तर्गत सुरक्षित छन् । एक सयभन्दा बढी देशका प्रत्येक तीनजनामध्ये एक कामदार बिरामी हुँदा आयविहीन हुने अवस्थामा छन् । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जियभादेखि चिनियाँ राष्ट्रपति सी जिनपिङ र पोप फ्रान्सिससम्म सबैले बढ्दो असमानताबारे बोलेका छन्, असमानताविरुद्ध नबोल्ने नेता भेट्नै मुस्किल छ । तर, उनीहरूको त्यो चासो नीतिहरूमा परिवर्तन भइरहेको भने छैन । 

पहिलो कुरा असमानतालाई नियन्त्रण गर्नु जरुरी छ । यो बर्खाको पानीजस्तो अवश्यंभावी होइन । असमानता सरकारको छनोटबाट नै फलीभूत भएको हो ।

असमानताप्रति अकर्मण्यताका कारण अधिकांश मुलुक यो संकटमा कमजोर साबित भएका छन् । जसका कारण अनावश्यक रूपले दसाैँ लाखको ज्यान गुमेको छ भने करोडौँ मानिस गरिबीमा धकेलिएका छन् । सरकारहरूले असमानताको खाडल घटाउन केही गरेको हुँदा हुन् त यो महाव्याधिको विकरालता यो हदको हुने नै थिएन । असमानतासँग जुझ्ने सवालमा भारतको प्रदर्शन विश्वकै खराब छ । भारतका केवल आधा जनसंख्याको मात्रै आधारभूत स्वास्थ्य सेवामा पहुँच छ । तर, भारतका कतिपय राज्य यतिवेला असमानता घटाउने नीतिहरूलाई सुदृढ बनाउनुको सट्टा दैनिक कार्यघन्टा बढाउने तर न्यूनतम ज्यालासम्बन्धी कानुनलाई निलम्बन गर्ने उल्टो बाटोमा छन् । यसको मतलब धनी मुलुकचाहिँ राम्रो गरिरहेका छन् भन्ने होइन । अमेरिकाजस्तो धनी मुलुकमा पनि यो महाव्याधिबाट दुई लाखभन्दा बढीले जीवन गुमाइसकेका छन् । योस्तरको मृत्युका लागि त्यहाँको बढ्दो असमानता पनि दोषी छ । अमेरिकाका लाखौँ गरिब परिवार स्वास्थ्य प्रणालीबाहिर छन्, खासगरी अश्वेत तथा अल्पसंख्यक आदिवासी समुदायका १० परिवारमा एक अश्वेत परिवारसँग मात्रै स्वास्थ्य बिमा छ, जब कि १० श्वेतमध्ये ७ को बिमा हुने गरेको छ । 

तर केही मुलुकले भने निकै राम्रो गरेका छन् । थाइल्यान्डलाई नै लिऊँ, यहाँ अहिलेसम्म कोभिडको मृत्यु ६० भन्दा कम छ । यो मुलुकले सबैलाई आधारभूत स्वास्थ्य सेवाअन्तर्गत राखेको छ । दक्षिण कोरियाले तल्लो वर्गका नागरिकलाई युनिभर्सल इमर्जेन्सी रिलिफ पेमेन्ट प्रत्याभूत गरेर यो महामारीको प्रतिक्रिया जनाएको छ । उसले यो संकटका बीच नै न्यूनतम ज्याला बढाएको छ, धनीमाथि कर बढाएको छ, स्वास्थ्य र शिक्षामा खर्च बढाएको छ । स्पेनले पनि आफ्ना जोखिम समूहका २० लाखभन्दा बढी नागरिकको न्यूनतम आय सुनिश्चित गरेर प्रगतिशील नीतिको उदाहरण प्रस्तुत गरेको छ । न्युजिल्यान्ड, एउटा अर्काे सफलताको कथा हो । यो मुलुकले बाल गरिबीजस्ता असमानताका मुद्दाको सामना गर्न समग्र बजेटलाई नै कल्याणकारी योजनाहरूमा केन्द्रित गरेको छ । भियतनामले आगामी १० वर्षमा उल्लेख्य असमानता घटाउन खोज्दै छ । पहिलो कुरा असमानतालाई नियन्त्रण गर्नु जरुरी छ । 

यो बर्खाको पानीजस्तो अवश्यंभावी होइन । असमानता सरकारको छनोटबाट नै फलीभूत भएको हो । अस्पताल जान सक्ने क्षमता र रोजगारी गुमाउँदा सामाजिक सुरक्षा जालोको सुरक्षाले कति फरक पार्छ भन्ने यो महाव्याधिले हामीलाई सिकाएको छ । असमानतालाई कम गर्न सरकारहरूले सिन्को नभाचिदिँदा हामी असुरक्षित भयौँ । दोस्रो कुरा धनी हुन या गरिब सरकार तिनले थुप्रै काम गर्न सक्छन् । सियरालियोनजस्तो गरिब मुलुकले माध्यमिक शिक्षालाई निःशुल्क बनाउन, उत्खनन कम्पनीहरूको करछली रोक्न जबर्जस्त सुधार गर्न सकेको छ । कोस्टारिका १० वर्षको अवधिमा नै लगभग सबै नागरिकलाई प्राथमिक स्वास्थ्य सेवाअन्तर्गत ल्याउन सफल हुन्छ भने अरूले पनि गर्न नसक्ने होइनन् । तेस्रो– सरकारहरूले चाहँदा आफ्नो मुलुकभित्र असमानता राम्रैसँग घटाउन सक्छन् । अन्तर्राष्ट्रिय सहयोग र सहकार्य विश्वव्यापी वित्तीय संकट टार्न निकै महत्वपूर्ण भएको थियो । यो महामारीले पनि त्यसैको अपेक्षा गरेको छ ।

(भेरा अक्सफाम इन्टरनेसनलका अन्तरिम कार्यकारी निर्देशक हुन्)
अलजजिराबाट

 

सुझावित समाचार