टीकापुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

भारतको तीन करोड तीस लाख नेपाली रुपियाँ सहयोगमा कैलालीको टीकापुरमा श्री सरस्वती माध्यामिक विद्यालय निर्माण भएको छ । 

सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी, भारतीय दूताबासका प्रतिनिधि, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले संयुक्तरुपमा भवन उद्घाटन गरेका छन् । 

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहित दुई तल्ले विद्यालय भवन निर्माण भएको भारतीय दूतावासले जनाएको छ । 

दूताबासका अनुसार भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि सारिएको  हो । 

सुदुरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४ सय २३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण भएको दूताबासले जनाएको छ ।  

सुदुरपश्चिममा धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यिय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा छ । 

विद्यालयमा जम्मा ५ सय ५० विद्यार्थीहरु अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा छन् । 

सुझावित समाचार