सरकारको आग्रह– दसैँको आशिष अर्काे वर्षका लागि साँचेर राख्नुहोस्

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

सरकारले नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँमा लिइने आशीर्वाद अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरेको छ ।

कोरोनाको जोखिम उच्च रहेको र त्यसमा ज्येष्ठ नागरिक अझ बढी जोखिममा रहेको भन्दै आफूभन्दा ठूलाबाट दसैँमा लिइने आशिष अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरिएको हो । 

बुधबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले महामारीका वेला ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था ख्याल गर्दै टाढाबाट नै आशीर्वाद लिन र प्रत्यक्ष नभेटेर नै दसैँ मनाउन आग्रह गरे । 

उनले दसैँमा काठमाडौं उपत्यकाबाट बाहिर र बाहिरबाट उपत्यका ओहोर–दोहोर नगरिदिन सरकारले आग्रह गरेको बताए । 
यदि ठूलो संख्यामा काठमाडौंबाट उपत्यकाबाहिर ओहोर–दोहोर भएमा त्यसले अनियन्त्रित ढंगबाट कोरोनाको फैलावट गर्ने र त्यो भयावह अवस्था हुने सरकारले ठहर गरेको छ । 

साथै प्रवक्ता ज्ञवालीले काठमाडाैं उपत्यका अझै पनि उच्च जोखिममा रहेकाले यहाँका बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरे । 

उनले देशका अरू जिल्लामा कोरोनाको प्रकोप नियन्त्रित हुँदै गएको भए पनि काठमाडौं उपत्यकामा नियन्त्रणउन्मुख नभएकाले निकै उच्च सकर्तता आवश्यक रहेको बताए । 

प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या बसोवास गर्ने उपत्यकामा कोरोनाको फैलावट अनियन्त्रित भएमा अति नै कठिन अवस्था आउनेप्रति सबैले संवेदनशील भएर बुझिदिन आग्रह गरे ।

सुझावित समाचार