नेपाल बैंक लिमिटेडमा सर्वसाधारण सेयरधनीका तर्फबाट तीनजना सञ्चालक हुने भएका छन् । बैंकको विशेष साधारणसभाले नेपाल सरकारबाट मनोनीत हुने चारजनामा एकजना घटाउने र सर्वसाधारणबाट निर्वाचित हुने दुईजनामा एकजना बढाई तीनजना पुर्याउने प्रस्ताव पारित गरेको हो ।
भर्चुअल रूपमा आयोजना गरिएको विशेष साधारणसभाले सञ्चालक प्रतिनिधित्वसम्बन्धी साबिकको व्यवस्था परिवर्तन गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ । यसका लागि नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन–थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको जनाइएको छ ।
बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाब प्राप्त भएमा सोबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गरेको बैंकले जनाएको छ ।