रौतहटमा एक महिनामा चार महिलाको हत्या

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण
रौतहटमा एक महिनामा चार महिलाको हत्या

गत शुक्रबार वृन्दावन नगरपालिका–४ हरैयापल्टुवामा घाँस काट्न गएकी १६ वर्षीया किशोरीको उखुबारीमा शव फेला

रौतहटमा एक महिनायता चार महिलाको हत्या गरिएको छ । गत शुक्रबार वृन्दावन नगरपालिका–४ हरैयापल्टुवामा घाँस काट्न गएकी १६ वर्षीया किशोरीको उखुबारीमा शव भेटिएको छ । बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको वडाध्यक्ष श्याम यादवले बताए । जिल्ला प्रहरी कार्यालय, रौतहटका डिएसपी भरत श्रेष्ठका अनुसार उखुबारीमा उनको शव भेटिएको हो ।

यसअघि १४ असोजमा प्रहरी हिरासतमै गुजरा–२ कटानी बजारकी राधिका राउतको ज्यान गएको थियो । परपुरुषसँग लागेको आरोप लगाउँदै उनका पति सुमनले वडाध्यक्ष अशोककुमार खाँ थारूलाई जानकारी दिएका थिए । त्यसपछि वडाध्यक्षसहित जनप्रतिनिधिले राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले आरोपित युवकलाई पनि पक्राउ गरेको थियो । हिरासतमै रहेका वेला बिहीबार बिहान उनी मृत भेटिएकी थिइन् ।

यस्तै, ९ असोज राति देवाही गोनाही नगरपालिका–५ टिकुलियाकी जगरामीदेवी तिवारीको हत्या गरिएको थियो । कुटपिटबाट उनको हत्या भएको प्रहरीले जनाएको छ । उनका पति महेशमाथि पनि कुटपिट भएको थियो । देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चारजना मिलेर दम्पतीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रजित र सोनालाल दाजुभाइ हुन् ।

यसैगरी, १४ भदौमा गढीमाई–३ मुसहरी टोलकी मिन्त्रादेवी बैठाको पनि बलात्कारपछि हत्या गरिएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् । उनी बिहान घाँस काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारजनले खोजबिन थालेका थिए । गाउँनजिकैको उखुबारीमा शव भेटिएको उनका पति सकल बैठाले बताए ।

See More On

सुझावित समाचार