प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारी उदासीनताका कारण कोरोना संक्रमण रोकथाम हुन नसकेको आरोप लगाएको छ ।
कांग्रेसको कोभिड– १९ अनुगमन समिति संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा समुचित आइसोलेसन अभावमा संक्रमितको बिचल्ली भएको, कन्ट्याक्ट ट्रेसिङ हुन नसकेकोले काेराेना राेकथाम हुन नसकेकाे उल्लेख छ ।
डेरामा बस्ने वा बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएकाले आइसोलेसन माग गर्दा केही दिनपछि सम्पर्क गर्नु भनेर सम्बन्धित निकायले फर्काउने गरेको भन्दै त्यसले गर्दा संक्रमण भएको लुकाउनुपर्ने अवस्था आएको विज्ञप्तिमा जनाइएको छ ।
‘यसले गर्दा संक्रमण झन् बढ्ने खतराप्रति सरकार पूरै उदासीन छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको मापदण्डअनुरूपको आफ्नो बस्ने व्यवस्था छैन, ती संक्रमितलाई अनिवार्य रूपमा सरकारले आइसोलेसनको तत्काल समुचित व्यवस्था गर्न जोडदार माग गर्दछौँ ।’
विज्ञप्तिमा कोरोनाको लक्षण देखिएकालाई अस्पतालमा उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ ।