‘स्टारडम’को भोकले सिध्याउँदै छ एसियन कलाकारलाई

सेलेब्रिटी भएपछि बजारले दिने दबाब, गर्ने नियन्त्रण तथा आफू टिकिरहनुपर्ने बाध्यताले भारत, दक्षिण कोरिया, जापान, ताइवानका फिल्म उद्योगका स्टार कलाकारमा मानसिक समस्या

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

बलिउडमा केही महिनाअघि अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरे । बलिउडको स्टार सिस्टमकै कारण उनले आत्महत्या गरेको भन्दै सिंगो बलिउडको चर्को आलोचना भयो । करण जौहर, आलिया भट्ट, सलमान खानसम्मलाई गाली गरियो । सुशान्तको मृत्युपछि बलिउडमा ‘नेपोटिजम’को बहस सुरु भएको छ । जसले स्टार सिस्टम खराब विषय हो भन्ने अवस्थामा बलिउडलाई ल्याइपुर्याएको समीक्षकहरू बताउँछन् ।

स्टार भएपछि बजारले दिने दबाब, गर्ने नियन्त्रण तथा आफू टिकिरहनुपर्ने बाध्यताले सेलेब्रेटीले आत्महत्या गर्ने गरेको विश्लेषण गरिन्छ । यस्तो दबाबबाट बच्न कलाकारले लागुऔषधको सहारा लिने गरेको बलिउडमा देखिएको छ । जहाँ चर्चित सेलेब्रिटीसमेत ‘ड्रग्स’ कारोबारमा मुछिएका छन् ।

जापानिज एकेडेमी अवार्ड विजेता चर्चित अभिनेत्री युको ताकेउचीले एक साताअघि आत्महत्या गरिन् । ४० वर्षीया युको सन् १९९८ मा प्रदर्शन भएको ‘रिंगु’ फिल्मबाट चर्चामा आएकी थिइन् । जुन चलचित्र हलिउड चलचित्र ‘द रिंग’को रिमेक हो । युकोभन्दा केहीअघि मात्र १४ सेप्टेम्बरमा ३६ वर्षीया अभिनेत्री सेई आसिनाले आत्महत्या गरेकी थिइन् ।

२००७ मा प्रदर्शन भएको ‘सिल्क’बाट चर्चामा आएकी यी अभिनेत्रीले आफ्नै अपार्टमेन्टमा झुन्डिएर गरेको आत्महत्याले जापानी फिल्म उद्योगलाई नै हल्लायो । गत जुलाईमा ३० वर्षीया चर्चित अभिनेता हारुमा मिउराले झुन्डिएर आत्महत्या गरे । आसिना र मिउरासँगै एक सिरिजमा काम गरेका ८० वर्षीया ताकासी फुजिकीले पनि गत सेप्टेम्बर २२ मा आत्महत्या गरे । उनले सुसाइड नोटमा लेखेका थिए, ‘अब अभिनयलाई निरन्तरता दिने आत्मविश्वास छैन ।’ कोरोना भाइरसले संसारभर क्षति गरिरहेका वेला स्टार कलाकारहरूले आत्महत्या गरेपछि जापानी फिल्म उद्योग शोकमा मात्र डुबेको छैन, बहस पनि उठिरहेको छ– के कारणले स्टार कलाकारले आत्महत्या गरिरहेका छन् ? यसको खासकारणको खोजीमा बहस मोडिएको छ जापानीज चलचित्र वृत्तमा । 

३६ वर्षीया चर्चित कोरियन अभिनेत्री तथा गायिका ओ इन–ह्येले गत १४ सेप्टेम्बरमा आत्महत्या गरिन् । त्यस्तै, ताइवानिज गायक, अभिनेता तथा मिडिया पर्सनालिटी एलियन हुआङले पनि गत १६ सेप्टेम्बरमा आत्महत्या गरे । यसरी चर्चित एसियन स्टार कलाकारले एकपछि अर्कोले आत्महत्या गरेपछि अहिले यसको कारणको खोजी भइरहेको छ । सेलेब्रिटी बनिसकेका कलाकारसँग नाम हुन्छ, दाम पनि हुन्छ । सरसर्ती हेर्दा आत्महत्या नै गर्नुपर्ने खास कारण देखिन्न । तर, नजिकबाट नियाल्ने हो भने उनीहरू कसरी बाँचिरहेका हुन्छन् र किन आत्महत्या गर्छन् भन्ने थाहा पाउन सकिन्छ । 

-२८ वर्षीया ताइवानिज–अमेरिकन गायिका एम्बर लिउले आफूलाई कति सकस हुन्छ भनेर पिपुल म्यागजिनलाई बताएकी थिइन् । उनले भनेकी थियन्, ‘सेलिब्रेटी भएपछि सुरुवातमा रमाइलो लाग्यो । तर, पछि बिस्तारै एकांकीपनले खिच्दै गयो... । अवश्य पनि सामाजिक सञ्जालमा म रमाइला र खुसीका कुराहरू पोस्ट गर्छु । किनभने मैले आफ्नो वास्तविक अनुभूतिलाई पोस्ट गर्दिनँ । म डिप्रेस्ड छु । यदि यो कुरा मान्छेहरूलाई थाहा भयो भने कोही पनि मलाई हेर्न र सुन्न चाहँदैनन् ।’

उनले कठिन ट्रेनिङ र प्रस्तुति, व्यस्त समय तालिका र उद्योग अनि फ्यानहरूको दबाबले आफूले कति तनाव महसुस गर्ने गरेको छ भनेर बताएकी थिइन् ।
कोरियन मनोरञ्जन उद्योगमा टिक्न प्रतिस्पर्धी हुनैपर्छ । त्यसमा मिहिनेत गर्नैपर्छ । कामको उस्तै तनावबीच पब्लिकमा सधैँ फ्रेस अनुहार देखाउनुपर्छ ।

सेलेब्रिटीहरूको एजेन्सी हुन्छ । एजेन्सीको काम कार्यक्रम मिलाउने, समय मिलाउने मात्र होइन, विशेष गरेर युवा सेलेब्रिटीहरूको मामिलामा उनीहरूले के खाने, कहाँ खाने, के लाउने र कोसँग डेट गर्ने कुराकोसम्म निक्र्योल गरिदिन्छन् । प्रेम गर्ने निक्र्यौलसम्म एजेन्सीले गरिदिएपछि सेलेब्रिटीलाई हुने अनावश्यक दबाब महसुस र त्यसले निम्त्याउने मानसिक बिरामीका कारण कोरियाका अधिकांश सेलेब्रिटीले सहयोग खोजिरहने बताइन्छ । तर, बजारले त उनीहरूलाई त्यसरी नै आफ्नो जालोभित्र परिरहने नै हो । धेरै आत्महत्याको केस बाहिर आउनुमा बजारलाई बढी कारक मान्ने गरिन्छ ।

दक्षिण कोरियाली पत्रकार किम दाइ–ओले ३० सेलेब्रिटीको आत्महत्याबारे रिपोर्टिङ गरेका छन् । दी गार्डियनमा उनी लेख्छन्, ‘कोरियन मनोरञ्जन उद्योगले आफैँ सारा जिम्मेवारी बहन गर्नुपर्दछ । यो उद्योग सेलेब्रिटीलाई वस्तुका रूपमा लिन्छ, जसका कारण केही शक्तिशाली एजेन्सीहरू छोटो समयमा अत्यधिक कमाउन सकून् । कैयौँ सेलेब्रिटी बच्चाका रूपमा देखिन्छन् र उनीहरूलाई जीवनका बृहत्तर आयामबारे सिकाइँदैन । उनीहरूलाई कसरी गाउने र नाच्ने भन्ने मात्र सिकाइन्छ । महिला सेलेब्रिटीको हालत झनै उस्तै छ, दर्शक उनीहरूको जीवनको एक–एक निजी कुराहरूमा चासो राख्छन् । जसको फाइदा एजेन्सीहरूले लिने गर्छन् ।’

-नेपाली मनोरञ्जन उद्योग जापानिज, कोरियनजस्तो ठूला र व्यावसायिक नभए पनि कलाकारलाई वस्तुकरण गर्ने सवालमा पछि छैन । यहाँ अधिकांश चलचित्रको लगानी बालुवामा पानी हुन्छ । तर, केही कलाकारको पारिश्रमिक भने मिडियाका हेडलाइन बनेर झुण्डिन्छन् । त्यसैलाई जग बनाएर कलाकारको ब्रान्ड भ्यालूको भव्य संरचना तयार गरिन्छ । अभिनेता अनमोल केसीले ५० लाख रूपैयाँ पारिश्रमिक लिन थालेको समाचारले स्थान पाउँछ । र ५० लाखमाथि उभ्याएर केसीको छातीमा ‘सुपरस्टार’को स्वघोषित तक्मा भिराइन्छ ।

बजारमा भ्रमको ट्रयाक तयार गरिन्छ । जहाँ तक्मासँग भिड्नका लागि आइपुग्छन् मिडियाले ‘चकलेटी’ भनेर न्वरान गरिदिएका प्रदीप खड्का । त्यसपछि लहरै दौडमा आइपुग्छन् पल शाह, पुष्प खड्का । पारिश्रमिकको समाचारले ‘स्टारडम’ पाएको भन्दै मख्ख पर्ने पूजा शर्मा पनि छेवैमा आइपुग्छिन् दौडनका लागि । शर्मा छेवैमा साम्राज्ञीराज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठहरू पनि आइपुग्छन्, ‘२० लाख’ र ‘२२ लाख’माथि बनेका गसिपको प्लेकार्ड बोकेर । यसले कलाकारलाई महत्वाकांक्षी मात्र नबनाएर आफू महँगो हुनुको दम्भ पनि सँगसँगै बढाउने र भविष्यमा कलाकार स्वयं ‘बाध्यात्मक अवकासी ट्रयाप’मा पर्ने विश्लेषण पनि नभएको होइन । तर, एक लाख मात्र बढी पारिश्रमिक लिएको समाचार आउँदा कलाकार आफ्नो ब्रान्ड भ्यालू बढेको भनेर मख्ख पर्नुले उनीहरूले कस्तो दौड जित्न चाहन्छन्, या के प्राप्त गर्न चाहन्छन् प्रस्टै देखिन्छ । 

निर्देशक नवीन सुब्बा भन्छन् ‘पचासको दशकपछि हलिउडमा स्टार कलाकारको अभ्यास टुट्यो । र, आफूलाई कलाकार भन्न थालियो । तर, हाम्रोमा त्यही सिको छ । बलिउडले गरेको अभ्यासलाई अहिले हामीले पछ्याइरहेका छौँ । त्यसले उद्योगलाई राम्रो गर्दैन । कसैलाई ब्रान्ड बनाएर लैजाँदा त्यसले उद्योगलाई डुबाउँछ र स्टार कलाकार पनि डुब्छ ।’
 

कलाकारले कति पारिश्रमिक लिने भन्ने विषयमा केही समयअघि अभिनेत्री स्वस्तिमा खड्काले नयाँ पत्रिकालाई बताएकी थिइन्, ‘यो महँगो पारिश्रमिकको खेल दुई–चार वर्षका लागि बन्द गरिनुपर्छ ।’ स्वस्तिमाले नै केही समयअघि पारिश्रमिकको विषयमा बोल्दा अभिनेत्री पूजा शर्मासँग जोडिएर विवाद पनि उठेको थियो । तर, पछि विवाद सल्टियो । ‘धेरैजनाले समाचारका लागि २० लाख रूपैयाँ लिएर आयो भने २१ लाख रूपैयाँको समाचार आइहाल्थ्यो ।

यो बढी पारिश्रमिकले ठूलो स्टार बनाउँछ भन्ने संस्कृति आफैँमा खराब हो,’ खड्काले कोरोनाकालको समयमा पारिश्रमिक बढाउने कि घटाउने भन्ने सवालमा बोलेकी थिइन्, ‘कसैले पैसा यति लियो भनेको आधारमा कसैलाई स्टार मान्नु आफैँमा समस्या छ । धेरै लियो भने स्टार र कम लियो भने केही नहुने भन्ने मान्यता गलत हो । मिडियाले पारिश्रमिकलाई लिएर बढाइचढाइ गरेर ग्ल्यामराइज गरिरहँदा पनि राम्रो परिवेश बनिरहेको छैन ।’

-स्टार सिस्टमबारे हलिउडले लामो अभ्यास गर्यो । हलिउडमा सुरुवातमा चलचित्र हेर्दा पैसा तिर्न पर्दैन थियो । पैसा आउने भनेको चलचित्रका सामानबाट थियो । तर, बिस्तारै अलिअलि पैसा उठ्न थाल्यो । त्यो पैसा यति धेरै भयो कि चलचित्र भवनको सुरुवात भयो । अनि कलाकार चाहियो । ट्रेन आइरहेको, फ्याक्ट्रीबाट निस्किरहेको मजदुरहरूको मात्र खिचेर भएन । त्यसपछि अभिनय पनि सुरु भयो ।

अभिनयका लागि थिएटरबाट मान्छे ल्याए । थिएटरका मान्छेले सुरुमा नाम दिँदैन थिए, लाज हुने भएकाले । तर, उनीहरूलाई पैसा त चाहिन्थ्यो । पछि पैसा यति धेरै कमाउन थाले कि २५ डलरको ठाउँमा एक लाख २५ हजार कमाउन थाले । त्यसपछि उद्योग चलाउन स्टार चाहियो । अनि स्टार निर्माण गर्न थाले । प्रेमकथाका लागि लभर ब्वाई बनाउने । समाचार पनि त्यसरी नै बनाउने । एक्सन गर्नेहरूले पनि त्यसै गरे । र, छवि निर्माण गर्न थाले । त्यो छविलाई बाहिर दर्शकमाथि हावी गराए । अहिले नेपालमा ‘चकलेटी’, ‘सुगठित शरीर’, ‘क्युट’ ‘एक्सन स्टार’जस्ता सम्बोधन त्यही पचासको दशकअघिको हलिउडको कपी भइरहेको छ ।

हलिउडका स्टुडियोहरूले त्यसरी नै स्टार जन्माउने काम गरे । त्यसको सिको हलिउडमा ४०÷५० को दशकपछि टुट्यो । तर, अहिले हलिउडको त्यही अभ्यास एसियाका सिनेमा उद्योगहरूमा देखिएको निर्देशक नवीन सुब्बा बताउँछन् । ‘पचासको दशकपछि हलिउडमा त्यो अभ्यास टुटेर सबैले आफूलाई कलाकार भने । तर, हाम्रोमा त्यही सिको छ,’ सुब्बा भन्छन्, ‘भारतले गरेको अभ्यासलाई हामीले पछ्याइरहेका छौँ । त्यसले उद्योगलाई राम्रो गर्दैन । कसैलाई ब्रान्ड बनाएर लैजाँदा त्यसले उद्योगलाई डुबाउँछ र स्टार पनि डुब्छ ।’ जापान र कोरियाको आत्महत्या केसको कारण पनि यही नै भएको दाबी निर्देशक सुब्बाको छ । 

सुझावित समाचार