अल इन्डिया मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)को फरेन्सिक चिकित्सा विभागले बलिउड नायक सुशान्त राजपुतको मृत्यु आत्महत्याकै कारण पुष्टि भएको जनाएको छ । राजपुतले झुन्डिएर आत्महत्या गरेको र उनको शरीरमा झुन्डिँदा बन्ने चोटबाहेक अन्य चोट नभेटिएको एम्सले जनाएको छ ।
यसैबीच सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सिबिएफसी) का प्रमुख प्रसुन जोशीले पनि घटनाबारे प्रतिक्रिया दिएका छन् । जोशीले हत्याभन्दा भयानक कुरा आत्महत्या भएको बताएका छन् । उनले भनेका छन्, ‘आत्महत्या हत्याभन्दा भयानक हो । हत्यामा त जो पनि दोषी देखिन सक्छन् । आत्महत्या एक बिरामी हो । यस्तो घटना त्यतिवेला घट्छ, जब सबै कुरा सही हुँदैन र मान्छेहरू असुरक्षित महसुस गर्छन् ।’
उनले अगाडि भनेका छन् कि यो सानो विषय होइन । बलिउडले यस घटनालाई गम्भीर रूपमा लिनुपर्छ । जोशीले थपेका छन्, ‘केही चलचित्र हिट भएर पनि केही फरक पर्दैन, जिन्दगी चलचित्रभन्दा ठूलो कुरा हो । अहिलेसम्म त यो आत्महत्या कि हत्या भनेर विवाद चलिरहेको छ, तर यदि बृहत्तर भएर हेर्ने हो र राजपुतको अवस्थालाई बुझ्ने हो भने मात्र थाहा हुन्छ, उनले के कारणले यस्तो निर्णय लिए ।’
राजपुतको परिवारकोे दाबी (डाक्टरहरूले नै विष पिलाएर हत्या गरेको)लाई पनि एम्सले अस्वीकार गरेको छ । एम्सको रिपोर्ट आएपछि राजपुत परिवारको वकिल विकास सिंहले प्रतिक्रिया दिएका छन् । ‘एम्सको रिपोर्ट अन्तिम निर्णय होइन । सिबिआईले अझै पनि हत्याको मुद्दा फाइल गर्न सक्छन् । एम्सको रिपोर्ट तस्बिरका आधारमा बनाइएको छ, जुन उसलाई प्रमाणको आधारमा दिइएको थियो,’ सिंहले भनेका छन्, ‘एम्सले राजपुतको शवको जाँच गरेको थिएन । एम्सको टिमसँग कुनै एक्स–रे थिएन ।’
भारतीय सञ्चारमाध्यमका अनुसार एम्सले अब पूर्ण रूपमा आफ्नो फाइल तयार गर्ने मनसाय बनाएको छ । र, अनुसन्धानसँग जोडिएको सबै रिपोर्ट सिबिआईको जिम्मामा पनि लगाइसकेको छ ।
हत्या नभएर आत्महत्या नै भएको रिपोर्ट एम्सले सार्वजनिक गरेपछि अभिनेत्री कंगना रनौतले ट्विटरमार्फत प्रतिक्रिया दिएकी छिन् । ‘युवा तथा प्रतिभाशाली मान्छे यसरी यसरी नै एक दिन उठ्ने छैनन् र आफैँलाई मार्ने छन् । सुशान्त भन्थे, उसलाई धम्की दिने गरिन्थ्यो र चलचित्रबाट बाहिरबाट निकालिएको थियो,’ रनौतले थपेकी छिन्, ‘आफ्नो भविष्यलाई लिएर उसलाई डर लाग्ने गथ्र्यो । यसलाई ‘मुभी–माफिया’सँग डर लाग्थ्यो । जब उसलाई बलात्कारको आरोप लगाइएपछि मानसिक रूपमा डिस्टर्ब भएका थिए ।’
रनौतले सुरुवातदेखि नै सुशान्तको मृत्यु आत्महत्याबाट होइन, हत्या भएको बताउँदै आएकी छिन् । ‘सुशान्तले केही मिडिया हाउसको नामसमेत लिएका थिए, जसले उनलाई काम दिनबाट रोकेका थिए । त्यो प्रोडक्सन हाउस को थियो ?,’ उनले प्रश्न गर्दै थपेकी छिन्, ‘मिडियाले किन सुशान्तमाथि बलात्कारको आरोप लगायो ? सुशान्तलाई ठूला प्रोडक्सन हाउसले निषेध गरेका थिए ।’