मापदण्ड तोकेर प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष नियुक्त गर्न आग्रह

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष नियुक्तिमा मापदण्ड तोकेर आवेदन खुलाउन नेपाल डेरी साइन्स एसोसिएसनले आग्रह गरेको छ । 

बागमती प्रदेशको बोर्ड उपाध्यक्ष नियुक्तिका लागि २ भदौमा सूचना प्रकाशित गरिएको थियो । सो सूचनामा कुनै मापदण्ड नतोकिएकाले दुग्ध क्षेत्रबाहिरका व्यक्ति छनाेट हुन सक्ने र त्यसले आत्मनिर्भरउन्मुख भइरहेको दुग्ध क्षेत्रको विकासमा बाधा पुग्ने एसोसिएसनको धारणा छ ।

एसोसिएसनले बोर्डको उपाध्यक्ष नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यतामा डेरी विज्ञान, पशु विज्ञान, भेटेनरी विषयमा कम्तीमा स्नातक उत्तीर्णसहित कम्तीमा १० वर्ष डेरी क्षेत्रमा वरिष्ठ अधिकृत तहको अनुभव भएको मापदण्ड राख्न सुझाब दिएको छ । यस्तो मापदण्ड राखेर छनाेट भएको व्यक्तिले दुग्ध क्षेत्रको विकासमा उल्लेख्य भूमिका खेल्न सक्ने एसोसिएसनको धारणा छ ।

एसोसिएसनले विज्ञप्तिमा भनेकाे छ, ‘विशिष्ट श्रेणीको उक्त उपाध्यक्ष पदका लागि नेतृत्व दिन सक्ने आवश्यक शैक्षिक योग्यता र अनुभवलाई सम्बोधन हुने गरी ऐनमा आवश्यक संशोधन गर्न र प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियाबाट योग्य व्यक्तिको नियुक्ति गर्न बागमती प्रदेश सरकारसमक्ष आग्रह गर्दछौँ ।’ 

एसोसिएसनले यसअघिको विज्ञापन रद्द गरी नयाँ मापदण्ड बनाई बोर्ड उपाध्यक्षका लागि नयाँ विज्ञापन गर्नसमेत माग राखेको छ । त्यस्तै आवेदन दस्तुर १० हजार रुपैयाँ प्रतिव्यक्ति राखिएकाले त्यसलाई कम गर्न आग्रह गरेको छ ।

एसोसिएसनले नयाँ मापदण्ड राखेर सही व्यक्ति छनाेट हुने सुनिश्चितताका साथ पुनः विज्ञापन खोल्न सरोकारवाला निकायमा आग्रह गर्दा सुनुवाइ नभएपछि ३१ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएको छ । सो रिटमाथि शुक्रबार पहिलो सुनुवाइका लागि पेशी तोकिएको छ ।
 

सुझावित समाचार