नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ आज (बिहीबार) देखि कार्यान्वयनमा ल्याएको छ ।
अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल आजदेखि लागू गरिएको पनि बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यसअघि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा बोर्डले सुपरिवेक्षण गर्दै आएकोमा आजदेखि अन्तर्राष्ट्रियस्तरको रूपबाट जोखिममा आधारित सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल बनाएर जारी गरिएको बताए ।
यसबाट जोखिममा आधारित सुपरिवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरूको कारोबार, कार्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने श्रेष्ठले स्पष्ट पारे ।
जोखिमको गणना गर्दा एकदेखि पाँचसम्म अंक दिइने गरी म्यानुअल तयार पारिएको उनको भनाइ छ ।
यसअनुसार जसको सबैभन्दा बढी जोखिम अर्थात् पाँच अंक आउँछ उसको वर्षैपिच्छे स्थलगत निरीक्षण गरिने पनि उनले बताए ।
कम जोखिम आउनेलाई दुई–तीन वर्षको अन्तरालमा स्थलगत निरीक्षण गरिने श्रेष्ठको भनाइ छ ।
नेपालको धितोपत्र क्षेत्र सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट मुक्त होस् भन्ने उद्देश्यले म्यानुअल तयार पारी लागू गरिएको उनले बताए ।
सकेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धित क्रियाकलाप नहोस् भन्ने उद्देश्य रहेको र भइहाल्यो भने पनि सुपरिवेक्षण म्यानुअलबाट भेटाउन सजिलो हुने विश्वास बोर्डको रहेको श्रेष्ठले बताए ।
सुपरिवेक्षण म्यानुअलबाट व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गरिने, धितोपत्र व्यवसायीहरूबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरूबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्यांकन हुनेछ ।
यसबाट उनीहरूसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण जोखिम कति हुन्छ भनेर गणना गर्न सक्ने स्थितिमा बोर्ड पुगेको श्रेष्ठको भनाइ छ ।