कोरोनाले गाउँ फर्किएको जनशक्ति परिचालन गर्नुको साटो प्रतिपोल १० हजार तिरेर हेलिकोप्टरबाट बिजुलीका पोल ढुवानी गरिएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका- २ राया गाउँको निर्माणाधीन लघुजलविद्युत् आयोजनाको लाइन विस्तारको जिम्मा पाएकाे उपभोक्ता समितिले हेलिकोप्टरबाट सात मिनेट लाग्ने बाटोका लागि सय थान बिजुलीको पोल सार्न प्रतिपोल १० हजार ढुवानी भाडा खर्च गरेको छ ।

सयवटा पोल ढुवानीको १० लाख रुपैयाँ खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढाले बताए । नेपालगन्जजबाट सिमकोटसम्म हवाईसेवाबाट र सिमकोटबाट खार्पुनाथसम्म गाडीबाट ढुवानी गरिएकाे छ ।
गाउँघरमा कामको खोजी रहेको जनशक्तिलाई परिचालन गर्नुको साटो महँगोमा हेलिकोप्टरमार्फत पोल ढुवानी गरिएकोप्रति स्थानीय युवा असन्तुष्ट बनेका छन् । उनीहरूले उपभोक्ता समितिले आफ्नो रोजीरोटी खोसेको आरोप लगाएका छन् ।
पछिल्लो समयले हिल्दुम लघुजलविद्युतले सिमकोट र खार्पुनाथमा आफ्नो प्रसनरण लाइन विस्तार गर्दै आएको छ । आयोजनाले लाइन विस्तारको जिम्मा २५ लाख रुपैयाँमा स्थानीय उपभोक्ता समितिलाई दिएको छ ।