तुम्लिङटारको गुठीटारमा खानेपानी पुगेपछि स्थानीय खुसी

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका– ९ तुम्लिङटारस्थित गुठीटारमा खानेपानी पुगेपछि स्थानीयमा खुसियाली छाएको छ । 

वर्षौँदेखि खोलाको दूषित पानी खान बाध्य भएका स्थानीयमा स्वच्छ खानेपानी पुगेपछि खुसियाली छाएको हो । 

गुठीटारमा बृहत् तुम्लिङटार खानेपानी आयोजनाले सेवा विस्तार गरेपछि त्यहाँका स्थानीयले राम्रो पानीको पहुँच पाएका हुन् । 

खाँदबारी नगरपालिकानजिकै भए पनि बत्तीमुनिको अँध्यारो भनेजस्तै बनेर गुठीटारका स्थानीय बस्न बाध्य थिए । गुठीटारमा १३ घरपरिवार बसोवास गर्दै आएका छन् ।

खाँदबारी नगरपालिकाको सहयोगमा करिब आठ सय मिटर निःशुल्क खानेपानीको पोलिथिन पाइप उपलब्ध गराएपछि खानेपानी आयोजनाले गुठीटारसम्म खानेपानीको सेवा विस्तार गरेको बृहत् तुम्लिङटार खानेपानी आयोजनाका अध्यक्ष लोकेन्द्र तामाङले बताए । 

गुठीटारमा यही १ असोजदेखि स्थानीयलाई पायक पर्नेगरी तीनवटा धारा जडान गरिएको स्थानीय भीमबहादुर गिरीले बताए ।

सुझावित समाचार