भारतीय अर्बपति मुकेश अम्बानीले लकडाउनमा समेत प्रतिघन्टा ९० करोड कमाए

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

गत साता रिलायन्स उद्योगका मालिक अनिल अम्बानीले आफूसँग सम्पत्तिको नाममा केवल एउटा कार मात्र रहेको दाबी गरेका थिए । यति मात्रै होइन, अदालतमा चलिरहेको मुद्दाहरूमा बहस गरेबापत वकिलको शुल्क तिर्नसमेत श्रीमतीको गहना बेचेको उनले बताएका थिए । केही वर्षअघिसम्म विश्वकै धनी व्यक्तिको शीर्ष दशभित्र रहेका अनिल एक दशकमा यसरी टाट पल्टिएका छन् । उनलाई भारतमा अर्बपति कंगालसमेत भन्न थालिएको छ । १२ वर्षअघि अर्थात् सन् २००८ मा अनिलसँग ४२ अर्ब डलर सम्पत्ति थियो । 

हिजो मंगलबार अम्बानी परिवारसँग जोडिएर एउटा समाचार आएको छ । जहाँ अनिलका दाजु अर्थात् भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले लकडाउनमा मात्रै कति सम्पत्ति थपे भनेर । भारतीय एजेन्सीहरूका अनुसार लकडाउनका वेला पनि मुकेशले व्यापारबाट प्रतिघन्टा ९० करोड भारु आर्जन गरेका छन् । 

भारतको आइआइएफए वेल्थ म्यानेजमेन्ट लिमिटेडले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२० मा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी हुन् । २१ अगस्टसम्म उनले आफ्नो सम्पत्तिमा एक हजार करोड भारु जम्मा पारेका छन् ।

भाइ कंगाल भए पनि दाजु मुकेशले आफ्नो व्यापार–व्यवसाय बढाएका छन् । उनले लगानी गरेको कुनै पनि कम्पनी कोरोना महामारीमा पनि घाटामा गएका छैनन् । मुकेशलाई सबै कम्पनीले मालामाल गराएका छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलाइन्स इन्डस्ट्रीका अध्यक्ष मुकेशको कुल सम्पत्ति ६ लाख ५८ हजार चार सय करोड भारु रहेको छ ।
पछिल्लो १२ वर्षमा उनको सम्पत्तिको आँकडा पनि बढेको छ । यो समयमा उनको सम्पत्ति ७३ प्रतिशतले वृद्धि भएको आइआइएफएले जनाएको छ । ६३ वर्षीय मुकेश अम्बानीले अगस्ट महिनामा सबैभन्दा धेरै धन आर्जन गरेका थिए । यो महिनामा उनको प्रतिदिनभन्दा पनि प्रतिघन्टा ९० करोड भारु आम्दानी गरेको उल्लेख छ । 

यो तथ्यअनुसार उनी अहिले विश्वकै चौथो धनी व्यक्ति बनेका छन् । भारतमा मुकेशपछि हिन्दुजा बन्धु दोस्रो धनी व्यक्ति हुन् । 

सुझावित समाचार