नेपाली भूमि फिर्ता गर्न तुरुन्त चिनियाँ पक्षसँग वार्ता थाल्नुपर्ने माग राख्दै सांसद रंगमति शाहीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण प्रस्ताव बुझाएकी छिन् ।
कांग्रेस सांसद शाहीले सोमबार परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेर परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण प्रस्ताव बुझाएकी हुन् । उनले प्रस्तावमा भनेकी छिन्, ‘परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, नेपाली सेना, विज्ञको टोली र स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासीसहितको संयुक्त टोली बनाई नेपालको भूमि फिर्ता गर्नका लागि तुरुन्त चिनियाँ पक्षसँग वार्ता तथा संवाद गर्न जोडदार माग गर्दछु ।’
नेपालपट्टि रहेको भूभागलाई चीनले आफ्नो भनी दाबी गरिरहेको सांसद शाहीको भनाइ छ । परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा भनिएको छ– हुम्ला जिल्लाको नाम्खा गाउँपालिका- ६ लिमीलाप्चा क्षेत्रको लिमीलाप्चा सडकखण्ड वि.सं. ०६६ मा नेपालले ग्याक्पुदोचामा निर्माण गरेको व्यहोरा माननीय मन्त्रीज्यूलाई जानकारी गराउँदछु । नेपालले सडक निर्माण गरेपश्चात् वि.सं. ०७३ तिर चीनले ग्याक्पुदोचाबाट करिब ३ किलाेमिटर नेपालपट्टिको लोलुङजोङ भन्ने स्थानमा दुईवटा भवन निर्माण गरेको थियो ।
उक्त दुईवटा भवन बनाउँदा लिमीवासीले विरोध गरेपछि चिनियाँपक्ष पछि हटेको थियो । हाल लकडाउनको समयमा चीनले फेरि सोही स्थान लोलुङजोङमा सुविधासम्पन्न नौवटा भवन निर्माण गरेकाे छ । उक्त भवनहरू भएको स्थानभन्दा करिब डेढ किलाेमिटर वरै नेपालपट्टि हाम्रो भूमिलाई आफूहरूको भनी दाबी गरेका छन् ।
यदि ग्याक्पुदोचा, लोलुङजोङ चिनियाँ पक्षको हो भने तत्कालीन समयमा नेपाललाई ग्याक्पुदोचासम्म सडक निर्माण गर्न चीनले कसरी दियो ? यस विषयमा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।