असोज १५ बाट प्याराग्लाइडिङ सञ्चालनमा आउने

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण
असोज १५ बाट प्याराग्लाइडिङ सञ्चालनमा आउने

फाइल तस्बिर

कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द भएको प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने भएको छ । 

सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको हो । 

अहिले परीक्षणकालका रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यावसायिक रूपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भए पनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए । 

कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरूलाई पुनः बुकिङ सुरु गर्न प्याराग्लाइडिङ कम्पनीहरूले निर्देशन दिएका छन् । लकडाउनको अवधिमा पोखरामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरूले करिब ५० करोडबराबरकाे नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताए । 

अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन् । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसन अफ इरोनेटिक इन्टरनेसनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्टमध्येको एक गन्तव्य हो ।

यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुवाती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङमा अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सुझावित समाचार