बिपी प्रतिष्ठानमा अनियमितता : उपकुलपतिले टेन्डरमा चलखेल गर्न आफूनिकटका व्यक्तिलाई जिम्मेवारी दिए

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफूनिकटकालाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले धमाधम नियुक्ति गर्न थालेका छन् ।  

पछिल्लो समय शुक्रबार प्रतिष्ठानको सिभिल इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर मदनकुमार साहलाई हटाएर ओभरसियरस्तरका विकास बस्याललाई प्रमुखको जिम्मेवारी दिएका छन् । 

६ वर्षअघि खुला प्रतिस्पर्धाबाट प्रतिष्ठान छिरेका साहलाई एक्कासि शुक्रबार क्वार्टरमै विभागीय प्रमुखबाट हटाइएको पत्र थमाइएको थियो । इन्जिनियरिङमा मास्टर गरेका साहभन्दा जुनियरलाई प्रमुख बनाएपछि साह असन्तुष्ट छन् । ‘कुनै जानकारीविना हटाइएको छ । त्यो पनि जुनियरलाई प्रमुख बनाएर,’  उनले भने, ‘प्रतिष्ठानमा विगतको जस्तै फोहोरी खेल सुरु भएको छ । अदालत जानुको विकल्प छैन ।’

यसअघि खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई हटाइएको थियो । यसअघि कुनै जानकारीविना परामर्श नगरी मेट्रोनबाट उपेन्द्र यादवलाई हटाएर खरिदमा अशोक साह र मेट्रोनमा गायत्री राईलाई नियुक्ति गरिएको छ । 

कर्मचारी सरुवाबारे प्रतिष्ठानका रजिस्ट्रार, अस्पताल निर्देशक कसैलाई जानकारी नभएको बताए । सरुवाबारे कुनै जानकारी नभएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले मिडियामा आएपछि आफ"लाई थाहा भएको बताए । 

सिटीस्क्यान मेसिन टेन्डरमा चलखेल

एक महिनाअघि सिटीस्क्यान खरिदका लागि प्रतिष्ठानले टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा सिमेन, फिलिप्स, जिई र न्यु सफ्ट एउटा चाइनिज कम्पनीले प्रस्ताव पेस गरेका छन् । तीमध्येबाट मूल्यांकन समितिले निर्णय गरेर चार कम्पनीमध्ये प्रक्रिया पुगेको एक कम्पनीलाई दिनुपर्ने प्रावधान रहेको छ । तर, अनुकूल कम्पनीलाई ठेक्का पार्न खरिदका विभाग प्रमुख तथा मूल्यांकन समितिका सचिवसमेत रहेका विष्णु चापागाईंलाई तीन महिनामै सरुवा गरिएको स्राेतकाे दाबी छ । मूल्यांकन समिति सदस्यसमेत रहेका कानुनी सल्लाहकार आस्मिनीकुमार भट्टराईलाई नियुक्ति गरेको एक महिनामै बुधबार बिदा दिएको छ।

उनलाई साउन १६ मा नियुक्ति गरिएको थियो । उनको नियुक्तिपत्रमा ०७७ साउन १६ देखि लागू हुने गरी एक वर्षका लागि करारमा नियुक्ति गरिएको थियो । तर, बिदा दिँदा २०७७ असोज ५ मा नै करार अवधि सकिएको उल्लेख छ ।

जिई कम्पनीलाई टेन्डर दिन लागेको मूल्यांकन समितिका एक सदस्यले बताए । उक्त कम्पनीलाई छनाेट नगरे उपकुलपतिका सहयोगी भट्टराई  मूल्यांकन समितिबाट सबैलाई हटाउने धम्की दिँदै आएका छन् । प्रतिष्ठानमा पुरानो सिटीस्क्यान भएका कारण नयाँ किन्न संघीय सरकारले २० करोड बजेट दिएको छ । बाँकी रकम प्रतिष्ठानले आन्तरिक स्राेतबाट व्यवस्थापन गर्न लागेकाे छ ।

प्रतिष्ठानले हाल किन्न लागेको सिटीस्क्यान फुल अप्सनको २५६ स्लाइडको भएको बायोमेड इन्जिनियरिङ विभागका प्रदीप साहले बताए । यसको मूल्य २५ करोड अनुमान गरिएको छ । यसअघि प्रतिष्ठानमा १६ स्लाइडको रहेको थियो ।  त्यो पनि बिग्रिएर थन्किएको छ । फुल अप्सनको उक्त मेसिन ल्याए १५ वर्षसम्म ढुक्क हुने बताइएको छ । तर, केही व्यापारीको सेटिङमा न्यूनस्तरको मेसिन खरिद गर्ने चलखेल भएको स्राेतको दाबी छ । 

यस विषयमा प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीसँग बुझन खोज्दा उनले फोन उठाएनन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले यस विषयमा आफूलाई कुनै सूचना नआएको जानकारी दिए ।  

सुझावित समाचार