लागुऔषध कारोबारीमाथि चार वर्ष लामो अनुसन्धान, एक अर्बको सम्पत्ति जफत

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

विगत चार दशकभन्दा लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्रविक्रम रोका छपालीले लागुऔषध कारोबारबाटै करिब एक अर्ब अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । उनको सबै नगद र घरजग्गा जफतको मागसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो । विभागले करिब चार वर्ष लगाएर उनीमाथि छानबिन गरी मुद्दा दायर गरेको हो । 

वि.सं. ३० दशकदेखि लागुऔषधको कारोबारमा संलग्न उनको सम्पत्तिको वैध स्रोत नभेटिएको र पटक–पटक लागुऔषध कारोबारमा संलग्न भएकाले सबै सम्पत्ति आपराधिक गतिविधिबाट कमाएको विभागको दाबी छ । सीतापाइलाको मेन सडकमा जोडिएको १७ रोपनी जग्गा र त्यहाँ बनेको साढे दुईतले घर, धादिङ नौबिसेको २७ रोपनी, दाङको २७ कट्ठा जग्गा जफतको माग गरी उनीविरुद्ध मुद्दा दायर भएको छ । 

सीतापाइलाको जग्गाको बजारमूल्य आनाकै करिब ४० लाख रुपैयाँ भएकाले त्यहाँको घरजग्गा अहिले करिब एक अर्ब पर्ने अनुसन्धानमा आबद्ध विभागका अधिकारीहरू बताउँछन् । त्यस्तै, धादिङमा रहेको उनको जग्गाको बजारमूल्य करिब पाँच करोड छ । 

विभागले सबै सम्पत्ति जफत गरी उनीसँग एक करोड पाँच लाख ७२ हजार पाँच सय ५५ रुपैयाँ बिगो उनको १३ वटा बैंकमा रहेको ६४ लाख ६६ हजारसमेत जफतको दाबी गरेको छ । उनले काठमाडौंका जग्गाहरू धेरै वर्षअघि सस्तो मूल्यमा किनिएको र त्यसलाई बिगो मानिएकाले कम भएपछि उनको सम्पत्तिको अहिलेको बजारमूल्य करोडौँ रहेको विभागका एक अधिकारीले बताए । सीतापाइलास्थित उनको जग्गा इन्द्रबहादुर तामाङ तथा प्रमोदप्रसाद प्रधानबाट बकसबापत लिएको उल्लेख गरेका छन् । तर, केबापत बकस पाएको पुष्टि हुन नसकेकाले त्यसलाई आपराधिक कार्यबाटै आर्जन गरेको विभागले दाबी गरेको छ ।

तामाङबाट ०४८ सालमा सात रोपनी ५ आना तथा प्रधानबाट ०३८ सालमा ६ रोपनी १४ आना जग्ग्गा बकसबापत लिएका थिए । उक्त जग्गाको मूल्य करिब ५० करोड पर्ने विभागका अधिकारीहरू बताउँछन् । तर, त्यतिखेल लिखतमा उल्लेखित मूल्य ४४ हजार पाँच सयलाई बिगोका रूपमा लिइएको छ । सीतापाइलामा साढे ६ रोपनी जग्गामा उनको घर बनेको छ । भीमढुंगामा थप एक रोपनी जग्गा भेटिएको छ । उनको बा.२च ६१७० नम्बरको गाडीलाई पनि जफतको माग गरिएको छ । उनीबाट विभागले ४९ हजार नेपाली र सात हजार भारुसमेत बरामद गरेको थियो । विभागले उनको सम्पत्तिलाई समेत बिगो दाबीको प्रस्ताव गरे पनि विशेष सरकारी वकिल कार्यालयले भने जफतको मात्र दाबी गर्ने निर्णय गरेको स्रोत बताउँछ । 

विभागले उनको जापान र हङकङमा रहेको बैंक खाताको समेत अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मार्फत जानकारी लिएको थियो । आपराधिक गतिविधिको पैसा उनले ती खातामा जम्मा गर्ने विभागको दाबी छ । 

विभागले उनकी श्रीमती चन्द्रा रोक्काविरुद्ध पनि सोही बिगो दाबी गरी मुद्दा दायर गरिएको छ । लागुऔषध कारोबारमा उनका सहयोगीहरू गोविन्दकुमार छन्त्याल, मनजित घर्तीमगर, नागेन्द्र थापामगर, जम्बा भोटे, इन्द्रबहादुर थिङविरुद्व समेत मुद्दा दायर भएको छ । ०६९ सालमा उनीहरू पनि देवेन्द्रसँगै पक्राउ परी दोषी भएर जेल भुक्तान गरी छुटेका थिए । 
प्रहरीका अनुसार देवेन्द्र ०३२ सालदेखि नै लागुऔषध कारोबारमा संलग्न हुँदै आएका छन् । बाग्लुङ स्थायी घर भएका उनी ०३८, ०४२ र ०६९ सालमा पक्राउ परेकोमा उनी तीनैपटक दोषी ठहर भएका थिए । ०६९ सालमा पक्राउ पर्दा उनले नेपालबाट भारत हुँदै क्यानडामा चरेस तस्करी गर्दै आएको खुलेको थियो । 

विभागले छानबिन थालेलगत्तै उनी फरार भएका थिए । विभागले पत्रिकामा सूचना निकालेर उनलाई बयानका लागि बोलाएको थियो । तर, उनी उपस्थित नभएपछि फरार बनाएर मुद्दा दायर गरिएको छ । करिब चार वर्ष लगाएर छपालीमाथिको अनुसन्धान सकिएको विभागका एक अधिकारीले बताए । ‘प्रतिवादी म्यादी–बाग्लुङको विकट गाउँमा जन्म भई केटाकेटी अवस्थामा नै काठमाडौं आई लागुऔषधको कारोबारलाई मुख्य पेसा बनाएको देखिएको’ विभागको अभियोगमा उल्लेख छ । 

सुझावित समाचार