बाँसको पुलबाट जोखिमपूर्ण यात्रा, त्यो पनि पैसा तिरेर !

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको सीमावर्ती औरही र बरियारपट्टि गाउँपालिकाको सीमाको रूपमा बग्ने गागन खोलामा पुल नबन्दा स्थानीय रकम तिरेर जोखिमपूर्ण बाँसको पुल तर्न बाध्य छन् । 

औरही गाउँपालिका– ५ औरहीको हरकट्टी हुँदै बग्ने गागन खोलामा पुल नबन्दा स्थानीय बाँसको अस्थायी पुल त्यसमा पनि पैसा तिरेर प्रयोग गर्न बाध्य छन् । 

करिब ६ वर्षअघि आएको बाढीले धार बदलेर पक्की पुलभन्दा करिब तीन सय मिटर पूर्वतिर बग्न थालेपछि अर्को पुल नबन्दा कामविशेषले ओहोरदोहोर गर्नेहरू पैसा तिरेर बाँसको पुल प्रयोग गर्न  बाध्य छन् । 

गागन खोला किनारमा भेटिएका नवराजपुर गाउँपालिका– ३, मझौराका कमलनारायण यादव भन्छन्, ‘बाढी आएको रहेछ, खोलाबाट तर्न सकिएन, दुईतर्फीको ५० रुपैयाँ तिरेर सदरमुकाम पुगेर फर्किएँ ।’ 

उनका अनुसार पुल सञ्चालकलाई रकम तिरेपछि मात्र तर्न पाइन्छ, रकम नभएका वेला अप्ठ्यारो पर्छ । औरही दरहैया गाउँका रामकुमार यादवले भने, ‘रकम नतिरे ज्यान जोखिममा पारेर खोलाको भेलबाटै तर्नुपर्छ ।’

व्यक्तिगत लगानीमा अस्थायी पुल बनाएका औरही गाउँपालिका– ५ का हरि कामतले करिब एक लाख रुपैयाँ खर्चिएर ९० थान बाँस, काठ र डोरीको प्रयोग गरेर पुल बनाएको बताए । उनले भने, ‘पुलमा लगानी गरेको रकम अझ २५ हजार रुपैयाँ उठ्न बाँकी छ । बाढी आएका वेला पुल प्रयोग गर्ने मोटरसाइकलचालकलाई दुईतर्फी ५० र एकतर्फी ३० रुपैयाँ लिने गरेको छु ।’ 

पछिल्लो तीन वर्षदेखि असार, साउन र मध्यअसोजसम्म खोलामा बाढी आउने भएकाले बाँसको पुल प्रयोग गर्नेहरू हुन्छन् । बाढी आउन छोडेपछि खोलाबाटै आवतजावत हुन्छ । कामतले थपे, ‘पुल प्रयोग गर्ने कर्मचारी, जनप्रतिनिधि, पत्रकारलाई रकम लिन्नँ । रकम नहुने बटुवाहरूलाई पनि निःशुल्क ओहोरदोहोर गर्न दिएको छु ।’ 

गत वर्ष औरही गाउँपालिकाले पनि गागन खोलामा बाँसको पुल बनाएको भए पनि मर्मत नहुँदा जीर्ण भएर मासिएको कामतले बताए । 

पुल निर्माणको ठेक्का पाएको रोसन कन्स्ट्रक्सनका साइट इन्जिनियर शशि यादवका अनुसार पुल निर्माणका लागि डिपिआरअनुसार पुल डिजाइन बने पनि साइट क्लियर नहुँदा निर्माणको काम सुरु हुन सकेको छैन । हुलाकी राजमार्ग आयोजना जनकपुरले प्रिस्ट्रेस्ड प्रविधिको एक सय २७ मिटर लामो पुल निर्माणका लागि गागनको पूर्वी किनारको साइट क्लियर नगर्दा केही ढिलो भएको उनले बताए ।  
 

सुझावित समाचार