एनआइसी एसियाको भौचर अनलाइनबाटै भर्न सकिने

बुधबार, ७ असोज, २०७७
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यस बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ । प्रविधिलाई प्राथमिकता दिनेक्रममा बैंकले देशको बैंकिङ इतिहासमै पहिलोपटक यो सेवा ल्याएको हो । 

बैंकले दिएको लिंकमा सेवाग्राहीका लागि भौतिक फारामकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनोट गरी आवश्यक विवरणहरू भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाइने बैंकले जनाएको छ ।

उक्त डिपोजिट कोडसहित सेवाग्राही सीधै बैंकको शाखामा उपस्थित भई विनाकुनै भौचर सोझै काउन्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिने जनाइएको छ ।

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउन्टरमा बसेकोे कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने बैंकले जनाएको छ । यो प्रविधिले बैंकको काउन्टरमा लाग्ने भिड कम हुने विश्वास लिएको जनाइएको छ ।

 बैंकले नगद रकम जम्मा गर्ने भौचरसमेत अनलाइन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको जनाएको छ । सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने प्रणालीको पनि सुरुवात गरिसकेको जनाइएको छ । 

बैंकले देशभरमा ३ सय २६ शाखा, ४ सय ६७ एटिएम, १ सय ३ एक्सटेन्सन काउन्टर एवं ६४ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ । 

सुझावित समाचार