भेनेजुयला, सर्वसत्तावाद र तेल संकट

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

भेनेजुयलाका लागि यो वर्षको गृष्म कठिन रह्यो । आर्थिक संकटबाट गुज्रिरहेको यो देशलाई कठोर लकडाउनले जर्जर बनाएको छ । त्यसमाथि अहिले ठूलो वातावरणीय विपत्ति आइपरेको छ । जुलाईमा एउटा सरकारी स्वामित्वमा रहेको प्रशोधन केन्द्रको तेल चुहिएर समुद्री तटमा रहेको मोरोको राष्ट्रिय निकुञ्जमा पस्यो । निकुञ्ज भेनेजुयलाको सबैभन्दा बढी जैविक विविधतायुक्त क्षेत्र हो । त्यस क्षेत्रमा पसेको पेट्रोलियम पदार्थले भेनेजुयलामा नयाँ राजनीतिक संकट सिर्जना गरेको छ ।

यसअघि नै भेनेजुयलाको मदुरो सरकारले कैयौँ विपक्षी दलका कार्यकारी एकाइलाई नियन्त्रणमा लिएको खबरले राजनीतिक माहोला तातेको थियो । यी दुई विपद् खासमा एउटै सिक्काका दुई पाटा हुन् । भेनेजुलयामा बढ्दो सर्वसत्तावादले तेल उद्योगको कुव्यवस्थापन उत्पन्न गरायो र पछि यही आजको वातावरणीय विपद्को कारण बन्यो ।

तेल उद्योगको कुव्यवस्थापनले त्यहाँको सत्ता थप तानाशाही बनेको छ भने विपक्षी झन् कमजोर बनेका छन् । राजनीतिक पण्डितहरूले विश्वभर तेलको मुनाफाले सर्वसत्तावादलाई मलजल गर्ने निकर्ष निकाल्न थालेका छन् । तर, भेनेजुयलाको हकमा भने घट्दो पेट्रोलियम आयसमेत सर्वसत्तावादको कारण र परिणाम भएको देखिएको छ । 

एक समय भेनेजुयला विश्वको सबैभन्दा प्रतिस्पर्धी तेल निर्माता थियो । तर, विगत दुई दशकमा यसको तेल उद्योग पूर्ण धराशायी बनेको छ । यसमा विगतमा राष्ट्रपति ह्युगो चाभेज र उनका उत्तराधिकारी वर्तमान राष्ट्रपति निकोलस मदुरो दुवैको हात छ । प्रमाणित भण्डारका आधारमा भेनेजुयलासँग साउदी अरबको भन्दा बढी तेल रहेको देखिएको छ । तर, उत्पादनको हिसाबमा भने देशको तेल उद्योग झन्डै धराशायी स्थितिमा छ ।

भेनेजुयलाको तेल उत्पादन ७७ वर्षअघिको अवस्थामा पुगेको छ । यसको सन्देश स्पष्ट छ । राजनीतिक उत्तरदायित्व, मानवअधिकार र वातावरणीय दिगोपन आधुनिक समयमा एक–अर्कासँग जोडिएका छन् । पहिलो गुम्यो भने बाँकी दुई पनि गुम्नेछन् । चाभेजले राष्ट्रिय तेल कम्पनीभित्रको निगरानी र सन्तुलनमा हानि पु¥याए र यसलाई आफ्नो एटिएममा बदले । तेल इन्जिनियरको ठाउँमा पार्टीका कार्यकर्ता भर्ती गरिए ।

लगानी प्रोटोकलहरू मिचिए । सुरक्षा मापदण्डहरू बेवास्तामा परे । तेल कम्पनीको मुनाफा चाभेजलाई पुनः निर्वाचित गराउने गरी मात्र प्रयोग गर्न थालियो । यी कुव्यस्थापनले गर्दा सन् २००३ देखि सन् २०१४ बीच तेल उत्पादन घट्यो । अनौठो कुरा, जुन समयमा तेलको मूल्य उल्लेख्य बढिरहेको थियो, त्यही समय भेनेजुयलाको तेल उत्पादनमा कमी आइरहेको थियो । अन्य पेट्रोलियम उत्पादक मुलुकमा यस्तो भएन ।

धेरैले भेनेजुयलाको समस्याका लागि ट्रम्पको प्रतिबन्धलाई दोष लगाउने गर्छन्, तर भेनेजुयलाको समस्या ट्रम्प निर्वाचित हुनुअघिकै हो । भेनेजुयलाको तेल संकटको सबैभन्दा ठूलो असर वातावरणमा परेको छ । भ्रष्टाचार, न्यून लगानी तथा कमजोर नियमनका कारण राज्यनियन्त्रित तेल कम्पनीहरू आर्थिक रूपमा टाट पल्टिएका छन् ।

विश्वको सबैभन्दा ठूलो तेल भण्डारण रहँदारहँदै पनि विश्वकै अक्षम सरकारका कारण भेनेजुयलामा आर्थिक संकट निम्तिएको छ । र, पछिल्लो समय यो वातावरणीय विनाशको कारण बनेको छ । 

यसले गर्दा ती कम्पनीका तेल संयन्त्रमा दुर्घटनामा उलेख्य वृद्धि भएको छ । तेल चुहिने कारण यही हो । एक रिपोर्टअनुसार सन् २०१० देखि सन् २०१८ बीचमा आठ लाख ५६ हजार ब्यारेल तेल चुहियो । धेरै तेल संयन्त्र समुद्रमा रहेकाले ती चुहेको अवस्थामा तेल समुद्रमा मिसिइरहेको छ । 

सन् २०१४ को मध्यबाट सन् २०१६ बीच विश्व बजारमा तेल उत्पादनमा उल्लेख्य कमी आयो । यसले भेनेजुयलाको आर्थिक संकट झन् गहिरियो, साथमा मदुरो सरकार पनि संकटमा फस्दै गयो । त्यसयता भेनेजुयलाको अर्थतन्त्र निरन्तर खुम्चिरहेको छ, जसको कारण भेनेजुयलामा ठूलो मानवीय तथा शरणार्थी संकट आइपर्यो । सामान्य अवस्थामा भेनेजुयलाले सामना गरेको आर्थिक संकटमा दुई राजनीतिक परिणति उत्पन्न हुन्थे : या त नीति बदलिन्थ्यो, या सरकार । तर, भेनेजुयलामा यी दुवै नभएर थप दमनको अवस्था सिर्जना भएको छ । 

भेनेजुयलाको संविधानअनुरूप यो वर्ष मदुरो सरकारले व्यवस्थापिकाको निर्वाचन गराउनुपर्ने थियो । आफूले चुनाव जित्न नसक्ने लागेपछि सरकार निर्वाचनसँग सम्बन्धित नियम नै बदल्न उद्यत छ । उसले व्यवस्थापकीय निकाय नेसनल एसेम्बलीको संख्या १६७ बाट बढाएर २७७ पुर्याएको छ । यो परिवर्तन ल्याउनुको उद्देश्य देशको सबैभन्दा बलियो विपक्षी दलको शक्ति क्षीण बनाउनु हो । साथमा निर्वाचन आयोग पनि सत्तानजिकको मान्छेले भरिएको छ ।

हुन त मदुरोले पछिल्लो समय सय राजनीतिक बन्दीलाई रिहा गरेर सकारात्मक सन्देश दिने प्रयास गरेका छन् । तर, उनले विपक्षी दलका नेतृत्वमा सरकार पक्षधर नेता ल्याउन भूमिका खेले । यसले विपक्षी घटक निर्वाचनमा सहभागी हुने र बहिष्कार गर्ने दुई मोर्चामा विभाजित भएको छ । अमेरिकाले विपक्षी दललाई चुनाव बहिष्कार गर्न प्रोत्साहित गरिरहेको छ । खासमा यसो गरेमा मदुरो सरकारलाई नै फाइदा हुनेछ ।

तेल चुहावटमा अमेरिकाको पनि केही हात छ । तेल चुहावट भेनेजुयलाको औद्योगिक अधोगतिले निम्त्याएको हो अमेरिकी प्रतिबन्धका कारण भेनेजुयलाले अमेरिकामा रहेको प्रशोधन संयन्त्र प्रयोग गर्न सक्दैन । यसैले सरकारले बिग्रेकै प्रशोधन संयन्त्रलाई सञ्चालनमा ल्याएको छ । यसले तेल चुहावटमा कमी आउन सकेको छैन, जुन अधिकांश नदी र तालमा मिसिइरहेको छ ।

हावियर कोरालेस अर्मस्ट कलेजका राजनीतिशास्त्रका प्राध्यापक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य 

सुझावित समाचार